बेनी
कात्तिक ३०
नेपाल पञ्चाङ्ग निर्णायक समितिले मङ्सिर १ गते परेको भाइटीका लगाउन हुने बताएको छ । यसपटक मङ्सिरमा भाइटिका परेकोले दाजुभाइले दिदीबहिनीको हातबाट टीका लगाउनुहुन्न भन्ने हल्ला चलेपछि समितिले यस्तो जानकारी गराएको हो ।
समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “मङ्सिरमा भाइटिका लगाउन हुन्न भन्नु हल्लामात्रै हो । त्यसको पछाडि कुनै शास्त्रीय आधार छैन ।”
मङ्सिर १५ गतेसम्म चान्द्रमास अनुसार कार्तिक शुक्ल पक्ष नै रहेकाले ढुक्क भएर तिहारको टीका लगाउन उनले आह्वान पनि गरेका छन् ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले चन्द्रमासअनुसार नै चाडपर्व मनाउने गर्छन् । मङ्सिर १५ गतेसम्म कार्तिक शुक्ल पक्ष भएकैले विवाहको लग्न १६ गतेपछि मात्र दिइएको पनि उनले जानकारी दिए ।
यस वर्ष गत आश्विन महिनामा अधिकमास (मलमास) परेकाले चाडपर्व पछि सर्दा भाइटीका मङ्सिर १ गते परेको हो ।
कुल परम्परा अनुसार दाजुभाइले दिदीबहिनीबाट र दिदीबहिनीले दाजुभाइको हातबाट भाइटीका लगाउने प्रचलन छ । सप्तरङ्गी टीका लगाएर एकापसमा गच्छे अनुसार मीठा परिकार, उपहार एवं दक्षिणा दिएर भाइटिका मनाइन्छ । दिदीबहिनी र दाजुभाइका बीचमा आपसी सद्भाव वृद्धि गर्ने पर्व भएकाले त्यसै अनुरूप मनाउन पनि समितिले आग्रह गरेको छ ।