बेनी
मङ्सिर ३
राष्ट्रपति विद्यादेवी भण्डारीले औषधीसम्बन्धी अध्यादेश जारी गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी हुन् ।
केही दिनअघि सञ्चारकर्मीहरुसँग बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसविरुद्धको भ्याक्सिन पत्ता लागेमा नेपालमा सहजै ल्याउने व्यवस्था गर्न सरकारले अध्यादेश जारी गर्ने बताएका थिए ।
यसअघि कोरोनाभाइरसविरुद्धको खोपको विश्वव्यापी अवस्थाका बारेमा अध्ययन गरी सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय बैठकले स्वास्थ्य सेवा विभागका तत्कालीन बालस्वास्थ्य महाशाखाका पूर्व निर्देशक डा. श्यामराज उप्रेतीको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको थियो ।
उक्त कार्यदलले नेपालले कोरोनाविरुद्ध निर्माण गरिएका खोपको परीक्षणमा कसरी भाग लिन सक्छ र कसरी खोपहरू प्राप्त गर्न सक्छ भन्ने बारेमा सुझाव दिने कार्यादेश पाएको छ ।