बेनी
मङ्सिर ८
म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । विरामी भई उपचारको लागि पोखरा लग्दै गर्दा रघुगङ्गा गाउँपालिका–१ का ८४ वर्षीय एक वृद्धको निधन भएको स्वास्थ्य कार्यालय, म्याग्दीले जानकारी दिएको छ ।
पर्वतको जलजला गाउँपालिका–२ बगरफाँटमा बस्दै आएका वृद्धको स्वास्थ्यमा समस्या आएपछि उनी उपचारका लागि चार दिन अगाडि बेनी अस्पताल आएका थिए । उपचारका क्रममा उनको नमुना संकलन गरी पिसिआर परीक्षणका लागि पोखरा पठाइएको तर, रिपोर्ट नआउँदै उनको स्वास्थ्यमा जटिलता आएपछि थप उपचारका लागि पोखरा लैजानेक्रममा बाटोमै निधन भएको हो ।
अस्पतालबाट पिसिआर परीक्षणको लागि पठाइएको नमुनाको नतिजा सोमबार आयो । तर, ती वृद्धको निधन भने आइतबारै भएको थियो ।
स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएका कारण रिपोर्ट नआउँदै मृत्यु भए पनि उनको शवलाई ‘कोभिड–१९ को प्रोटकल’ अनुसार आइतबार नै अन्त्येष्टि गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिए ।
म्याग्दीमा सोमबार थपिएका ५ जना कोराना सङ्क्रमित मध्ये मृतक वृद्ध समेत रहेको स्वास्थ्य प्रमुख लम्सालले जनाए ।
सोमबार अन्नपूर्ण गाउँपालिकाको वित्तीय संस्थामा कार्यरत एक जना र बेनी नगरपालिकाका ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
योसँगै म्याग्दीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।
