बेनी
कात्तिक २३
समुदायस्तरमा कोरोना महामारी फैलिन थालेपछि सदरमुकाम बेनीबजारमा समुदायस्तरमा परीक्षण शुरु गरिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र, जिल्ला स्वास्थ्य कार्यालय म्याग्दी र बेनी नगरपालिकाको समन्वयमा आइतबारदेखि अभियान शुरु गरिएको हो ।
अभियानका क्रममा नगरपालिकाको वडा नं. ७ र ८ का घरघरमा पुगेर स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य मापदण्ड पालनाको अवस्थाबारे जानकारी लिने र कसैलाई लक्षण देखिएको वा नदेखिएको बारे सोधखोज गर्ने नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले जानकारी दिए ।
“यदि कसैलाई कोरोनाका लक्षण देखिएको पाइएमा नमुना सङ्कलनका लागि टोलीले काम गर्छ,” प्रवक्ता बराईलीले भने ।
बेनीको विरेन्द्रचोकमा आयोजित अभियानको शुभारम्भमा बोल्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले समुदायमा महामारीको जोखिम नबढोस् भनेर अभियान शुरु गरेको जानकारी दिए । बजार क्षेत्रमा देखिएको महामारी गाउँ पस्न नपाओस् भनेर अभियान शुरु गरिएको र यसलाई विस्तारै अन्य वडामा पनि लैजाने नगरप्रमुख श्रेष्ठको भनाइ थियो ।
बेनी नगरपालिकाका स्वास्थ्य संयोजक लिला गौतमले अभियानका क्रममा कोरोनासँग मिल्दोजुल्दो लक्षण पाइएमा घरमा अलग्गै बस्न, नमुना सङ्कलन गरेर रिपोर्ट नआउँदासम्म घरमै बस्न र स्वास्थ्यमा थप समस्या देखिएमा तत्काल जानकारी गराउन अनुरोध गरिने बताइन् ।
अभियानमा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्साल, बेनी नगरपालिकाका उपमेयर सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, ८ का अध्यक्ष एवं प्रवक्ता रामकृष्ण बराईलीलगायतको सहभागिता थियो ।
समुदायस्तरमा कोरोना संक्रमणको जोखिम बढेपछि जिल्ला संकट व्यवस्थापन केन्द्र, म्याग्दीको यही कात्तिक १४ गतेको बैठकले एक साता बेनी नगरक्षेत्रबाट हुने गरेका सबैखाले सेवा बन्द गर्ने निर्णय गरेकोमा २२ गतेदेखि थप एक साता बन्द गर्ने निर्णय यसअघि नै भैसकेको छ ।
यसक्रममा नमुना सङ्कलन, नगर क्षेत्रमा जनचेचनामूलक अभियान सञ्चालन तथा घरमा बसेका संक्रमितको अवस्थाबारे जानकारी लिने काम भैरहेको छ ।