बेनी
कात्तिक १९
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीलाई लक्षित गरी नमुना प्रश्नपत्र सार्वजनिक गरेको छ । धेरै विद्यार्थी हुने ४१ विषयका संक्षिप्त पूर्णाङ्कका नमुना प्रश्नपत्र बोर्डले वेबसाइटमार्फत् सार्वजनिक गरेको हो ।
आगामी मंसिर ९ गतेबाट शुरु हुन लागेको कक्षा १२ को परीक्षामा ४० प्रतिशत मूल्याङ्कनका लागि बोर्डले नमूना प्रश्नपत्र सार्वजनिक गरेको हो ।
कोरोना महामारीका कारण ४० प्रतिशत मूल्यांकनका लागि बोर्डले परीक्षा लिन लागेको छ । भिन्न परिस्थितिमा परीक्षा हुन लागेकोले विद्यार्थीमा अन्योल नहोस् भनेर नमूना प्रश्नपत्र सार्वजनिक गरिएको बोर्डले जानकारी दिएको छ ।
बोर्डको संशोधित कार्यविधिअनुसार सैद्धान्तिक परीक्षाको नम्बरलाई १०० प्रतिशत मानेर त्यसको ४० प्रतिशत मात्रै मूल्याङ्कनका लागि परीक्षा लिन लागिएको हो ।
बोर्डले सार्वजनिक गरेको नमुना प्रश्नपत्र प्राप्त गर्नका लागि www.neb.gov.np मा लग इन गर्न सकिनेछ ।
बाँकी ६० प्रतिशतमध्ये ४० प्रतिशत मूल्याङ्ककन कक्षा ११ को नतिजाको आधारमा लिइने र विद्यालयको आन्तरिक मूल्याङ्कनबाट २० प्रतिशत जोड्ने गरी बोर्डको कार्यविधि तयार भएको छ ।
![]() |
| फाइल तस्विर |
कक्षा १२ को परीक्षा गत ८ वैशाखबाट शुरु हुने कार्यतालिका रहे पनि कोरोना भाइरसको जोखिम बढेपछि परीक्षा स्थगित भएको थियो ।
कक्षा १२ को परीक्षा फारम भरेका सबै माध्यमिक विद्यालयहरुलाई यस वर्ष परीक्षा केन्द्र मानिएको छ ।

