बेनी
पुस १७
केही दिनयता पूर्वसूचनाबिना नै विद्युत् कटौती हुन थालेसँगै सर्वसाधरणमा एउटा नमिठो प्रश्न बल्झियोः के फेरि लोडसेडिङ शुरु भएको हो ? यो आशङ्कामिश्रित जिज्ञासा बढ्दै जान थालेपछि नेपाल विद्युत प्राधिकरणले विज्ञप्ति नै निकालेर प्रष्टीकरण दिएको छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै प्राधकिरणले विगत ३ वर्षदेखि नै लोडसेडिङ अन्त्य भइसकेको र लोडसेडिङ गर्नुपर्ने स्थिति नआएको जानकारी दिएको हो ।
माग भन्दा आपूर्ति कम भएको अवस्थामा मात्र लोडसेडिङ गर्नुपर्ने बाध्यता रहने प्राधिकरणको भनाइ छ । नेपाल प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले हाल नेपालमा आन्तरिक उत्पादन र आवश्यकता अनुसार भारतबाट आपूर्ति भैरहेका कारण लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको बताए ।
राष्ट्रिय विद्युत् प्रणालीमा भारवहन क्षमता भन्दा बढी विद्युत प्रवाह हुँदा केही समय विद्युत प्रसारण तथा आपूर्तिमा भएको अवरोध लोडसेडिङ नभएको समेत प्राधिकरणले स्पष्ट पारेको छ ।
प्राधिकरणका प्रवक्ता तिम्सिनाका अनुसार विद्युतको पोल सार्ने, ट्रान्सफर्मर प्रतिस्थापन गर्न वितरण प्रणालीका पुराना संरचनाहरु मर्मत सम्भार तथा बदली गर्दा विद्युत आपूर्तिमा समस्या आउँछ । साथै, विद्युत प्रवाह भइरेहको संरचनामा आउने प्राकृतिक तथा आकस्मिक समस्याहरु आउँदा सम्बन्धित स्थानको विद्युत आपूर्ति काटेर तत्कालै मर्मत सम्भार गरी विद्युत आपूर्ति सूचारु गर्ने गरिएको उनले बताए ।