Notification

×

Iklan

Iklan

पुस २१ गतेबाट मुक्तिनाथ मन्दिर खुल्ने

Friday, January 1, 2021 | January 01, 2021 WIB Last Updated 2021-12-30T03:24:38Z

 बेनी

पुस १७



प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर यही पुस २१ गतेदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ । मुक्तिनाथ विकास समितिका अध्यक्ष एवं मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको अध्यक्षतामा सरोकारवाला निकाय सम्मिलित बैठकले यस्तो निर्णय गरेको हो । कोरोना भाइरस सर्ने जोखिम बढेसँगै गत चैतमा सरकारले बन्दाबन्दी घोषणा गरेपछि मुक्तिनाथ मन्दिर पनि दर्शनार्थीका लागि बन्द गरिएको थियो ।




मुक्तिनाथ विकास समितिको पहलमा जिल्ला समन्वय समिति, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका, जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश सभासद, सुरक्षा निकाय, वारागुङ मुक्तिक्षेत्र–१ अन्तर्गतका रानीपौवा, झारकोट र खिङ्गा गाउँका स्थानीयबासी, गाउँ मुखिया, मन्दिरमा कार्यरत आनीझुमा तथा पुजारीको संयुक्त बैठकले मुक्तिनाथ मन्दिर मंगलबारदेखि सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको हो ।


बैठकले मुक्तिनाथ मन्दिर खुला गर्नेलगायतका थप चारओटा निर्णय गरेको छ । प्रजिअ पौडेलका अनुसार आउँदो पुस २१ गते मङ्गलबारदेखि मुक्तिनाथ मन्दिरको ढोका खुला गर्ने, मुक्तिक्षेत्रमा कोभिड–१९ कारण कोही स्थानीय बिरामी परेमा मुक्तिनाथ विकास समितिको कोषबाट उपचारको व्यवस्था गर्ने, मुक्तिनाथ पुग्ने दर्शनार्थी तथा पर्यटकलाई मन्दिर प्रवेश गर्न पिसिआर रिपोर्ट अनिवार्य गराउने र मुक्तिनाथ क्षेत्रमा दर्शनार्थी तथा मन्दिरमा कार्यरत पुजारी, आनीझुमा, सुरक्षा निकाय र मन्दिरका कर्मचारीलाई कोभिड–१९ को जोखिम न्यूनीकरण गर्न आवश्यक स्वास्थ्य सुरक्षा सामग्री तथा जनशक्ति उपलब्ध गराउने बैठकले निर्णय गरेको हो ।





प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ विगत १० महिनाअघिदेखि बन्द छ । मन्दिर बन्द रहँदा मुस्ताङको मात्र नभई गण्डकी प्रदेशकै पर्यटन व्यवसाय प्रभावित भएको थियो । 


मुक्तिनाथ मन्दिर खोल्नुअघि मुक्तिनाथ मन्दिरक्षेत्रमा आवश्यक स्वास्थ्य सुरक्षाको बन्दोबस्त वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले गर्ने बताइएको छ ।


हिन्दू र बौद्धमार्गीहरुको साझा तीर्थस्थलका रुपमा रहेको मुक्तिनाथमा नेपाल र भारतका विभिन्न ठाउँबाट धार्मिक श्रद्धालुहरु पुग्ने गरेका छन् ।


×
Berita Terbaru Update