बेनी
पुस १४
नेपालमा यस वर्ष धानको उत्पादकत्व बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कमा सो कुरा उल्लेख छ ।
मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार, यो वर्ष ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान फलेको छ । गत वर्ष उत्पादन भएको भन्दा यो ७० हजार ८३१ टन धेरै हो । यो वर्ष फलेको धान अहिलेसम्मकै उच्च रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
समयमैं मनसुनी वर्षा शुरु भएर गत वर्षको भन्दा करीब एक तिहाई बढी वर्षा भएको, करीब १ प्रतिशत बढी खेतमा रोपाइँ बढेकोे तथा देशमा रसायनिक मलको अभाव भए पनि धान उत्पादनमा ७० प्रतिशत योगदान रहेका तराईका जिल्लामा भारतबाट युरिया मल ल्याई किसानले प्रयोग गरेका कारण धान उत्पादन बढेको कृषि मन्त्रालयले जनाएको छ । यसका अलावा गुणस्तरीय उन्नत बीउको प्रयोगले धान उत्पादन बढाएको मन्त्रालयले दाबी छ ।
मन्त्रालयका अनुसार, यो वर्ष धानको उत्पादकत्व ३.८२ टन प्रति हेक्टर पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो । गत वर्ष धानको उत्पादकत्व प्रति हेक्टर ३.८० टन थियो ।
मौद्रिक मूल्यमा यो वर्ष करीब रु. १ खर्ब ५७ अर्ब मूल्य बराबरको धान उत्पादन भएको अनुमान गरिएको छ । यसमा परालको मूल्य जोडिएको छैन । यो वर्ष कृषि मन्त्रालयले मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल रु. २ हजार ७३५ र मध्यमस्तरको धानको मूल्य प्रतिक्विन्टल रु. २ हजार ८८५ तोकेको थियो । कुल धान उत्पादनको ६० प्रतिशत मोटा र बाँकी मध्यम र मसिनो भएको अनुमान गर्दा यो परिमाण मूल्यमा धान उत्पादन भएको अनुमान गरिएको छ ।
कृषि मन्त्रालयले देशैभरिका कृषिसम्बन्धित कार्यालयहरुले सङ्कलन गरी पठाएको तथ्याङ्क, मनसुनी वर्षाको तथ्याङ्क, उन्नत र हाइब्रिड बीउबीजनको उपलब्धताको तथ्याङ्क, रोग किराको प्रभाव आदिको विश्लेषण गरी धान उत्पादनको तथ्याङ्क सार्वजनिक गरेको हो । हिमाली क्षेत्रको पर्यावरणका विषयमा अध्ययन गर्ने संस्था इसिमोडसँगको सहकार्यमा ‘रिमोट सेन्सिङ विधि’मार्फत भू उपग्रह तस्वीरको विश्लेषणले पनि धान उत्पादनको आँकडा निकाल्न सहयोग गरेको मन्त्रालयले जनाएको छ ।
गत वर्ष ५ असारमा भित्रिएको मनसुनी वर्षा यो वर्ष ३० जेठबाटै शुरु भएको थियो । गत सालको मनसुन अवधिका तुलनामा यो वर्ष ३१ प्रतिशत बढी वर्षा भएका कारण धान रोपाइँ छिटो र बढी क्षेत्रफलमा हुन सकेको थियो । छिटो धान रोपाई हुनसक्दा उत्पादन बढ्ने सम्भावना ज्यादा हुन्छ । यो वर्ष १४ लाख ७३ हजार क्षेत्रफलमा रोपाइँ भएको थियो ।
गत वर्षको तुलनामा यो करीब १४ हजार हेक्टर धेरै हो ।