बेनी
पुस १४
म्याग्दी सदरमुकाममा रहेको सरकारी अस्पताल बेनी अस्पतालले ‘अक्सिजन प्लान्ट’ स्थापना गरी सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र अस्पतालको आन्तरिक स्रोतबाट ६२ लाख ४० हजार रुपैयाँको लागतमा अक्सिजन प्लान्ट स्थापना गरिएको हो । म्याग्दीमै पहिलोपटक बेनी अस्पतालले अक्सिजन उत्पादन शुरु गरेको हो ।
बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले अक्सिजन प्लान्टको स्थापना र ‘बुष्टर मेसिन’को जडानसँगै जिल्लामै अक्सिजनको उत्पादन र भण्डारण सेवा सञ्चालन शुरु भएको जानकारी दिए ।
“प्रदेश सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत् अक्सिजन प्लान्ट स्थापना गर्न आर्थिक सहयोग प्राप्त भएकोमा टेन्डर प्रक्रियामार्फत ४२ लाख रुपैयाँमा आवश्यक मेसिन र थप उपकरण खरिद गरेका छौं,” अध्यक्ष कटुवालले भने, “अपुग रकम अस्पतालको आन्तरिक स्रोतबाट व्यवस्थापन गरी प्लान्टको पूर्वाधार निर्माण र बुस्टर मेसिन किनेका छौं ।”
अक्सिजन प्लान्टबाहेक बुस्टर मेसिन खरिद र पूर्वाधार निर्माणमा १५ लाख ४० हजार रुपैयाँ खर्च भएको अध्यक्ष कटुवालको भनाइ छ ।
बेनी अस्पतालका निमित्त प्रमुख डाक्टर जितेन्द्र कँडेलले उत्पादित अक्सिजन तत्कालका लागि सिलिन्डरमा भरेर उपयोग गर्ने र केही महिनाभित्रै पाइपलाइनमार्फत्र अस्पतालका आवश्यक कोठाहरुमा पु¥याउने तयारी भैरहेको जानकारी दिए ।
अस्पतालमै अक्सिजनको उत्पादन गरी उपयोग गर्न सकिने व्यवस्था भएपछि नियमित रुपमा अक्सिजन प्रयोग गर्दै आएका श्वासप्रश्वास र दमका विरामीका साथै जटिल समस्या भएका विरामीको उपचारमा सहज हुने डा. कँडेलको भनाइ छ ।
अस्पतालका अनुसार, पाइपलाइन विस्तारको लागि सामाजिक विकास मन्त्रालयबाट चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।