Notification

×

Iklan

Iklan

संसद विघटन विरुद्ध प्रचण्ड–नेपाल पक्षको बेनीमा प्रदर्शन

Tuesday, December 29, 2020 | December 29, 2020 WIB Last Updated 2021-12-30T03:24:41Z

 बेनी

पुस १४



प्रतिनिधि सभा विघटन विरुद्ध प्रचण्ड–नेपाल पक्षधर नेकपा म्याग्दीले बेनीमा विरोध प्रदर्शन गरेको छ । मङ्गलबार सदरमुकाम बेनीमा कार्यकर्ता उतारेर उक्त समूहले सरकारविरुद्ध प्रदर्शन तथा विरोध सभाको आयोजना गरेको हो।






सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य आशा कोइरालाले जनताले नेकपाको एकतालाई अनुमोदन गरेर पाँच वर्ष सरकार चलाउन म्यान्डेट दिएको तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने जनभावनामाथि खेलवाड गरेको आरोप लगाएकी छिन् ।




विरोध सभालाई सम्बोधन गर्दै नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले जनयुद्ध र जनआन्दोलनको जगमा प्राप्त उपलब्धिलाई मास्न खोजिएको बताउँदै सबैले यसको विरोध गर्नुपर्ने विचार व्यक्त गरे । संसदको विघटन सिफारिस गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको अपमान गरेको भन्दै अध्यक्ष पौडेलले प्राप्त उपलब्धिको रक्षाका लागि सबै क्षेत्रबाट प्रतिरोध गर्नु आवश्यक रहेको विचार व्यक्त गरेका थिए ।




सोही सभामा बोल्दै नेकपा गण्डकी प्रदेश सदस्य हिरा केसीले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको आरोप लगाएका छन् भने गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले जनताको हितभन्दा सरकार आफ्नो स्वार्थ पूरा गर्नतिर लागेको विचार व्यक्त गरेका छन् । 


विरोध सभालाई सम्बोधन गर्दै नेकपा म्याग्दीका युवा नेता बालकृष्ण सुवेदीले सत्ताभन्दा पनि सत्यको पक्षमा लाग्न आग्रह गरे । संसदको विघटन गरेर प्रधानमन्त्रीले देश र जनतालाई धोका दिएको आरोप लगाउँदै नेता सुवेदीले असंवैधानिक कदमको विरोध गरी ‘सत्यको पक्षमा उभिन’ नेकपाका नेता–कार्यकर्तालाई अपील गरे । 


सोही सभालाई सम्बोधन गर्दै नेकपाका अर्का युवा नेता रेशम जुग्जाली (सुविन)ले राजाहरुले प्रजातन्त्रमाथि गरेको हमलाकै शैलीमा प्रधानमन्त्री ओलीले पनि गणतन्त्रमाथि हमला गरेको विचार व्यक्त गरे । नेकपा म्याग्दीका कार्यालय सदस्य समेत रहेका नेता जुग्जालीले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमले गणतन्त्र र संविधानमाथि नै आक्रमण गरेको विचार व्यक्त गरेका थिए । 




सदरमुकामस्थित शहीदस्मृति चोकबाट शुरु भएको ¥याली बेनी बजार परिक्रमा गरी सोही ठाउँमा पुगी विरोध सभामा रुपान्तरण भएको थियो । बजार परिक्रमको क्रममा सहभागीहरुले सरकारको विरोधमा नाराबाजीसमेत गरेका थिए ।


नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षता र राष्ट्रिय यूवा संघका केन्द्रीय सदस्य कृष्णकुमार विश्वकर्माको सञ्चालनमा विरोध सभा सम्पन्न भएको थियो ।


×
Berita Terbaru Update