बेनी
मङ्सिर २९
सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाविरुद्धको खोप ल्याउन सरकारले आवश्यक पहलहरू गरिरहेको बताउँदै यो खोप लगाउनबाट कोही नागरिक वञ्चित नहुने जानकारी दिएका हुन् ।
उनले भने, ‘सरकारले कोरोनाविरुद्धको खोप प्राप्त गर्ने तथा सबै नागरिकलाई लगाउने कामलाई योजनाबद्ध तरिकाले अगाडि बढाइरहेको छ ।’ नेपालमा ७२ प्रतिशत नागरिकलाई खोप लगाउने सरकारको योजना छ । विश्वमा १४ वर्षभन्दा मुनिका बालबालिकाका लागि कोरोना खोप नबनेकाले नेपालका बालबालिकाले खोप पाउनेछैनन् । देशको जनसंख्यामध्ये २८ प्रतिशत बालबालिका रहेका छन्।
नेपाललाई ‘कोभ्यास’मार्फत २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप उपलब्ध गराइनेछ । खोप विकास क्रममा रहेकामध्ये गुणस्तरयुक्त, लागत कम, पूर्वाधारमैत्री एवं विद्यमान कानुनअनुरूप उपलब्ध गराउन खोप सल्लाहकार समितिको परामर्शका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कामलाई अगाडि बढाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार खोप विज्ञ समिति र आठ वटा प्राविधिक समितिले खोप व्यवस्थापन, खोप सञ्चालन एवं खोप सञ्चारसहितको आवश्यक कार्य अगाडि बढाएका छन् ।
यो सामग्री आजको राजधानी दैनिकमा छ ।