Notification

×

Iklan

Iklan

‘राहुघाट मङ्गले’ जलविद्युत आयोजनाको शिलान्यास

Monday, December 14, 2020 | December 14, 2020 WIB Last Updated 2021-12-30T03:24:54Z

बेनी

मङ्सिर २९


तुँदी पावर कम्पनीले निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको राहुघाट–मङ्गले जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोला र वडा नम्बर ८ कुइनेमङ्गले क्षेत्रमा निर्माण हुन लागेको आयोजनाको बाँधतर्फको पूर्वाधारको आइतबार शिलान्यास गरिएको हो । 





आयोजनाको बाँधस्थल रहेको बन्दीघाँटीमा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बाँधतर्फको पूर्वाधार निर्माणको शुभारम्भ गरेका हुन् । यसक्रममा गाउँपालिका अध्यक्ष भण्डारी, वडा नम्बर ७ र ८ का अध्यक्षहरु क्रमशः दुर्गा पुन र गमान छन्त्यालले पनि भूमिपूजा गरेका थिए ।



शिलान्यासपछि बोल्दै गाउँपालिका अध्यक्ष भण्डारीले आयोजनालाई समयमै सम्पन्न गर्न अनुरोध गरे । प्रभावित क्षेत्रमा शिक्षा, स्वास्थ्य सहित समुदायको विकासमा आयोजनाबाट रचनात्मक सहयोग हुने अपेक्षा व्यक्त गरेका थिए। 




४० महिनाभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको कुल लागत साढे ५ अर्ब रहेको कम्पनीका आवासीय इन्जिनियर प्रकाश तिमल्सिनाले बताएका छन् । बन्दिघाटको मुहानदेखि ५ किलोमिटर लामो सुरुङमार्ग हुँदै ल्याइने पानीलाई चिमखोलाको मलाङस्थित विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने उनको भनाइ थियो ।


आयोजनाको बाँध, पावर हाउस र पेनस्टक पाइप निर्माणको रामेछाप शेर्पा कन्स्ट्रक्सन र टनेल निर्माणको साउथ एसियन इन्फ्रास्ट्रक्चर कम्पनीले ठेक्का पाएका छन् । सुरुङ ठेकेदार कम्पनीले अडिट रहने घ्याँसीखर्कमा क्याम्प निर्माण गरी अडिट टनेलको तयारी गरेको छ ।


बाँधतर्फको ठेकेदार कम्पनीले बन्दीक्षेत्रमा क्याम्प र क्रसर उद्योगको पूर्वाधार निर्माण गरिरहेको छ । निर्माण कम्पनी तुँदी पावरले भने चिमखोलाको सिस्नेरीमा आवासगृह (क्याम्प) निर्माणको तयारी गरेको छ । 


यो आयोजना निर्माण गर्न तुँदी पावरले २०७३ मङ्सिर २३ गते विद्युत् विकास विभागबाट अनुमति पाएको थियो । 


स्वदेशी लगानीमा निर्माण हुन लागेको यो आयोजनाबाट उत्पादन भएको बिजुली निर्माणाधीन दाना–खुर्कोट प्रसारण लाइनमार्फत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।



×
Berita Terbaru Update