Notification

×

Iklan

Iklan

‘सिङ्गो नेकपासँग चुनाव लड्ने रहर छ’

Tuesday, December 15, 2020 | December 15, 2020 WIB Last Updated 2021-12-30T03:24:54Z

 बेनी

मङ्सिर २९



नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खमवीर) ले सिङ्गो नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवारसँग चुनावी प्रतिस्पर्धा गर्ने रहर लागेको बताएका छन् । सोमबार नेपाली काँग्रेस, म्याग्दीले आयोजना गरेको सडक प्रदर्शनपछि बोल्दै सभापति गर्बुजाले यस्तो विचार व्यक्त गरेका हुन् । 




सदरमुकाम बेनीस्थित विरेन्द्र चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापति गर्बुजाले वर्तमान सरकारले जनताका चाहनाहरुलाई पुरा गर्न नसकेको भन्दै सरकारप्रति जनताको भरोसा घट्दै गएको दावीसमेत प्रस्तुत गरे ।


“कोरोना महामारीले देश सङ्कटमा परेको छ, तर सरकार चलाएको पार्टी नेकपाका नेताहरु भने विवाद गरिरहेका छन्,” सभापति गर्बुजाले भने, जनतालाई समस्या परेको बेला सरकारले समेत बेवास्ता गरेको छ ।” निर्वाचनमा जनतासामु गरेका प्रतिबद्धता पूरा गर्नुको साटो नेताहरु सत्ताको लुछाचुँडीमा लागेको भन्दै सभापति गर्बुजाले अबको चुनावपछि नेकपालाई बत्ति पालेर खोज्नुपर्ने अवस्था आउने दावीसमेत गरेका थिए । 




विरोधसभालाई सम्बोधन गर्नेक्रममा सभापति गर्बुजाले अगामी चुनावमा पनि आफैले उम्मेदवारी दिने सङ्केत गरे । २०७० र २०७४ को चुनावमा पराजय व्यहोरेका गर्बुजाले भने, “मलाई सिङ्गो नेकपासँग फेरि एकचोटि चुनाव लड्ने रहर छ ।” प्राकृतिक विपत्तिले ठूलो जनधनको क्षति निम्त्याउँदा पनि सरकारले म्याग्दीलाई विपद्ग्रस्त जिल्लाको सूचीमा नसमेटेको भन्दै सभापति गर्बुजाले प्रदेश र संघीय सरकारमा म्याग्दीबाट प्रतिनिधित्व गरिरहेका सांसदहरुको भूमिका पनि चित्तबुझ्दो नभएको बताएका थिए ।




सदरमुकाम बेनीमा आयोजित विरोध र्यालीपछिको सभालाई संविधान सभा सदस्य एवं नेपाली काँग्रेस, म्याग्दीका निवर्तमान सभापति रेशमबहादुर बानियाँ, पूर्व सहसभापति नेत्रबहादुर महत, जिल्ला सचिव तथा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, सचिव मिनबहादुर कार्की, प्रवक्ता अजयमिलन श्रेष्ठ, काँग्रेस प्रदेश निर्वाचन क्षेत्र ‘ख’ का सभापति कमल छन्त्याल, महिला संघका सभापति विमला गौचन, तरुण दलका अध्यक्ष मुकुन छन्त्याल, दलित संघका अध्यक्ष बालकुमार लामिछाने, बेनी नगर सभापति अनोद श्रेष्ठ, नेविसंघका सभापति निर्मल खत्री लगायतले सम्बोधन गरेका थिए । 




नेपाली काँग्रेस म्याग्दीका उपसभापति माधव रेग्मीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहसचिव भरत रकालले गरेका थिए । कार्यक्रम शुरु हुनुअघि बेनीमा काँग्रेस नेता–कार्यकर्ताहरु सहभागी ¥यालीले बजार परिक्रमा गरेको थियो ।


केपी ओली नेतृत्वको सरकार अधिनायकवाद, कुशासन र भ्रष्टाचारतर्फ उन्मुख भएको भन्दै नेपाली काँग्रेसले देशव्यापी सडक प्रदर्शनको कार्यक्रम घोषणा गरेको थियो । यस अन्तर्गत म्याग्दी काँग्रेसले पनि सरकारविरुद्ध सदरमुकाम बेनीमा शक्ति प्रदर्शन गरेको हो । 



×
Berita Terbaru Update