बेनी
पुस १३
आगामी आठ वर्षमा चीन संसारकै धनी देश बन्ने एक अध्ययनले देखाएको छ । संयुक्त अधिराज्य (यूके)को सेन्टर फर इकोनोमिक एन्ड बिजनेस रिसर्चको प्रतिवेदन अनुसार चीनले सन् २०२८ सम्ममा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा अमेरिकालाई समेत उछिन्ने देखिएको हो । प्रतिवेदनमा औँल्याइएको त्यो समय यसअघि अनुमान गरिएको भन्दा पाँच वर्ष छिटो हो ।
सेन्टरका अनुसार कोभिड–१९ को सीपयुक्त व्यवस्थापनले चीनको उन्नति अमेरिका र युरोपमा भन्दा छिटो हुने बताइएको छ ।
भारतको अर्थतन्त्र भने सन् २०३० मा विश्वकै तेस्रो ठूलो हुने अनुमान गरिएको छ । भारतले सन् २०१९ मा यूकेको अर्थतन्त्रलाई विश्वको पाँचौं स्थानबाट विस्थापित गरेको भए पनि कोभिड–१९ का कारण फेरि पछाडि परेको छ ।
भारतले सन् २०२४ मा यूकेलाई, सन् २०२७ मा जर्मनीलाई र सन् २०३० मा जापानलाई पछाडि पार्ने अनुमान गरिएको छ । सेन्टरले प्रत्येक वर्ष डिसेम्बर २६ मा आफ्नो प्रतिवेदन सार्वजनिक गर्छ ।
चीनमा कोरोना भाइरस पहिले देखिएको भए पनि कडा प्रावधान लागू गरेर उसले महामारी नियन्त्रण गरेको थियो । अन्य देशहरूमा जस्तो चीनले पटकपटक लकडाउन पनि गरेको छैन । यसले गर्दा चीनको अर्थतन्त्र चलायमान बनिरहेको छ । यसको परिणाम स्वरूप सन् २०२० मा अन्य ठूलो अर्थतन्त्रहरूमा मन्दी देखिए पनि चीनको अर्थतन्त्र दुई प्रतिशतले बढ्ने देखिएको छ ।
अमेरिकी अर्थतन्त्र भने सबैभन्दा नराम्ररी थलिएको छ । त्यहाँ भाइरस जोडिएका घटनामा ३३०,००० मानिसहरूको मृत्यु भएको छ भने एक करोड ८५ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।
अर्थतन्त्रमा भएको प्रभावलाई मौद्रिक नीति र आर्थिक सहयोगले कम गर्न खोजिएको छ तर त्यहाँ देखिएको राजनीतिक असहमतिका कारण नयाँ वर्षमा एक करोड ४० लाख मानिसले बेरोजगारी भत्ता सुविधा नपाउने हुनसक्छ ।
प्रतिवेदनका अनुसार सन् २०२१ मा कोभिड–१९ बाट अर्थतन्त्रमा सुधार आएपछि अमेरिकामा सन् २०२२ देखि सन् २०२४ सम्म १.९ प्रतिशतले अर्थतन्त्र वृद्धि हुनेछ भने त्यसपछि १.६ प्रतिशतमा वृद्धि हुनेछ । चीनको अर्थतन्त्र भने सन् २०२५ सम्म ५.७ प्रतिशतले बढ्ने र सन् २०२६ देखि सन् २०३० सम्म ४.७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।
सन् २००० मा विश्वको कुल अर्थतन्त्रको ३.६ प्रतिशत अंश रहेको चीनको भने अहिले १७.८ प्रतिशत रहेको छ र सन् २०२३ मा चीन विश्वकै सबैभन्दा उच्च आम्दानी भएको अर्थतन्त्र हुनेछ ।
चीनको अर्थतन्त्र बलियो हुनुका कारण कोभिड–१९ मात्र नभई ठूलो उद्योगलक्षित नीतिहरू पनि भएको सेन्टरका उपाध्यक्ष डगलस म्याक विलियम्सले बताएका छन् ।
