Notification

×

Iklan

Iklan

सांसद थापाद्वारा दग्नाम–चिमखोला सडकको निरीक्षण

Thursday, December 3, 2020 | December 03, 2020 WIB Last Updated 2021-12-30T03:25:06Z

बेनी

मङ्सिर १७


प्रतिनिधि सभाका सदस्य एवं निवर्तमान महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले दग्नाम र चिमखोलालाई जोड्ने निर्माणाधीन सडकको निरीक्षण गरेकी छिन् । बिहीबार दग्नाम हुँदै चिमखोला जानेक्रममा सांसद थापाले उक्त सडकको निरीक्षण गरेकी हुन् । 




“आफ्नो पहलमा शुरु भएको सडक निर्माणले गति लिएको देख्दा माननीयज्यू खुशी देखिनुभएको छ,” चिमखोलाका स्थानीय अगुवा गम पुनले भने, “अब छिटै नै दर्मिजादेखि माथिको भूगोल पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।”


निरीक्षणका क्रममा सांसद थापाले २० वर्षदेखिको सपना साकार हुन लागेकोमा खुशी व्यक्त गरेको र अब उक्त सडकलाई राष्ट्रिय स्तरको सडकमा विकास गर्नुपर्ने आवश्यकता औंल्याएको पनि पुनले जानकारी दिए ।




राष्ट्रिय सभाका तत्कालीन सदस्य थममायाँ थापाको पहलमा आर्थिक वर्ष २०५६÷५७ यो सडक निर्माण शुरु भई रातो किताबमा समेत परेको थियो । ‘गलेश्वर–मौवाफाँट–दग्नाम–दर्मिजा–चिमखोला–घ्याँसीखर्क’ सडकको नाउँमा निर्माण आरम्भ भए पनि त्यसले अपेक्षित रुपमा गति लिन सकेको थिएन । माओवादी सशस्त्र द्वन्द्व, अपुग बजेट र अन्य समस्याका कारण सडक निर्माणले अपेक्षित गति लिन नसकेको सडक निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष एवं नेकपा म्याग्दीका सचिवालय सदस्य बालकृष्ण सुवेदीले जानकारी दिए । 

 

माघसम्म ट्र्याक खुल्ने

रघुगङ्गा गाउँपालिकाको दर्मिजादेखि माथिका बस्तीलाई समेट्ने गरी निर्माण हुँदै गरेको सडकका लागि सबैभन्दा समस्या अजिङ्गर भीर बनेको छ । सबैभन्दा कठिन र जोखिमयुक्त अजिङ्गर भीर फोडेर सडक निर्माणको काम भैरहेको छ ।




हाल संघ र प्रदेश सरकारले समेत बजेट लगानी गरेको यो सडक निर्माण गर्न रघुगङ्गा गाउँपालिकाले पनि बजेट व्यवस्था गरेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार चिमखोलमा निर्माणाधीन तुँदी जलविद्युत् आयोजना, संघीय र प्रदेश सरकारसँगको साझेदारीमा अजिङ्गर भीरमा चट्टानी पहाड फुटाउने काम भैरहेको हो ।


मौवाफाँटदेखि दग्नाम हुँदै अजिङ्गर भीरसम्म पाँच किलोमिटर र चिमखोलादेखि दर्मिजासम्म करिब चार किलोमिटर सडकको ट्र्याक खुलिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । “आउँदो माघसम्म ट्र्याक खोल्ने गरी काम भैरहेको छ,” अधिकृत सुवेदीले भने, “गाउँ सरकारदेखि संघ सरकार सबैको सहयोगले रघुगङ्गा गाउँपालिकाको गौरवको योजना पूरा हुँदैछ ।”




चिमखोला र कुइनेमङ्गलमा निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाले यो सडक बनाउन सहयोग गरेको छ । नेपाली सेनाको प्रत्यक्ष निगरानीमा कडा चट्टानको विष्फोट भैरहेको र अब छिटै नै अजिङ्गर भीर छिचोलिने स्थानीय युवा एवं इन्जिनियर सुविन सेर्पुन्जाले जानकारी दिए ।



×
Berita Terbaru Update