Notification

×

Iklan

Iklan

गृहजिल्ला म्याग्दीमा ‘अरुणा जिताऔं’ अभियान शुरु

Thursday, December 31, 2020 | December 31, 2020 WIB Last Updated 2021-12-30T03:24:39Z

 बेनी

पुस १६



राष्ट्रिय महिला भलिबल टोलीका क्याप्टेन अरुणा शाहीलाई जिताउन गृहजिल्ला म्याग्दीमा अभियान शुरु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको ‘पिपुल्स च्वाइस अवार्ड’को मनोनयनमा परेपछि शाहीलाई जिताउने अभियान शुरु गरिएको हो । जिल्ला भलिबल संघ, म्याग्दीले अभियानको नेतृत्व गरिरहेको छ ।




अभियानको पहिलो दिन बिहीबार सदरमुकाम बेनीमा माइकिङसहित राष्ट्रिय झण्डा बोकेको टिमले अभियानबारे जानकारी गराउँदै, शाहीको पक्षमा मत माग्दै बजार डुलेको भलिबल संघ म्याग्दीका अध्यक्ष रमेशकुमार श्रेष्ठले जानकारी दिए । 


भलिबल खेलाडी एवं प्रशिक्षक तेजेन्द्र बानियाँले अरुणा शाहीले भलिबल खेलमा प्राप्त गरेको सफलताले म्याग्दीको शिर उँचो बनाएको बताउँदै शाहीलाई जिताउन अभियान शुरु भएको बताए । “सबैले उत्साहित भएर भोटिङ गर्नुभएको छ,” प्रशिक्षक बानियाँले भने, “एक मत दिएर म्याग्दीको चेलीलाई जिताउन सकिन्छ भने सबैले सहयोग गर्न आवश्यक छ ।”


मनोनयनमा परेका खेलाडीलाई ई–सेवामार्फत् एसएमएम भोटिङ, फेसबुक लाइक, खेलकूद मञ्चका सदस्यको भोट र राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा विजेता छनोट गरिने आयोजकले जानकारी दिएको छ ।




भोटिङका लागि ई–सेवाको एप डाउनलोड गरी खेलाडीको प्रोफाइलमा गएर भोट गर्न सकिने मञ्चले जनाएको छ । भोटिङलाइन पुस २७ गते राति १२ः०० बजेसम्म खुला रहने छ । 


रघुगङ्गा गाउँपालिका–३ पिप्लेकी शाहीले माल्दिभ्ससँगको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय खेलाडीका रुपमा खेल्न शुरु गरेकी थिइन् । यसबाहेक शाहीले भारतसँगको मैत्रीपूर्ण, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप प्रतियोगिता, एभीसी सेन्ट्रल जोन र १२औं दक्षिण एसियाली खेलकूद (साग) प्रतियोगितामा आफ्नो खेलकौशल देखाइसकेकी छिन् । 


पछिल्लोपटक अरुणाकै क्याप्टेनसिपमा नेपालले २० वर्षपछि अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएको थियो ।


×
Berita Terbaru Update