बेनी
मङ्सिर २७
अर्थमन्त्री विष्णु पौडेलले सरकारले कोरोना भाइरसविरुद्धको खोप जतिसक्दो छिटो सहजरुपमा उपलब्ध गराउने तयारी गरिरहेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को पाँचौं महासभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो जानकारी दिएका हुन् ।
उनले भने, “सरकार सबैलाई सहजरुपमा कोभिडविरुद्धको खोप उपलब्ध गराउने र यो महामारीबाट छिटोभन्दा छिटो नागरिकको जीवन सहज बनाउनेतर्फ केन्द्रित छ ।” मुलकको आर्थिक क्षेत्रमा नीजि क्षेत्रको योगदान अतुलनीय रहेको बताउँदै मन्त्री पौडेलले कोभिडविरुद्धको लडाइँमा सरकारलाई सहयोग गर्न निजी क्षेत्र, सञ्चार क्षेत्र र आम नागरिकलाई आग्रह पनि गरेका थिए ।
“यति बेला समग्र मानव जाति कोरोनाको महामारीबाट आक्रान्त छ, आर्थिक, सामाजिक क्षेत्र प्रभावित छ, हामी पनि त्यसबाट प्रभावित छौँ, अहिले कोभिडलाई परास्त गर्दै आर्थिक–सामाजिक जीवनलाई पूर्ववत् अवस्थामा फर्काउन चुनौती बनेको छ”, अर्थमन्त्री पौडेलले ।
सरकारले नागरिकको जीवन रक्षा र नागरिक सर्वोच्चतालाई पहिलो प्राथमिकतामा राखेको बताउँदै उनले कोभिडका बिरामीको उपचारले सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
राससको सहयोगमा