बेनी
मङ्सिर २५
विगतका वर्षहरुको तुलनामा यस वर्ष म्याग्दीमा सुन्तलाको उत्पादन घट्ने देखिएको छ । अनुकूल मौसम नहुनु, सुन्तला पाक्ने समयमा चाइनिज सिडरस फुड फ्लाई (औंसा) नामक किराको प्रकोप फैलिनु जस्ता कारणले सुन्तला उत्पादनमा कमी आउने देखिएको हो ।
सुन्तला पाक्ने क्रममा औंसा जातको किरा सुन्तलाको बोटमा लागेर दाना पहेंलो हुँदै झर्न थालेपछि किसानहरु चिन्तित छन् । म्याग्दी जिल्लाको बेनी नगरपालिका–३, भकिम्ली, ४ नम्बर वडा सिङ्गासहित मङ्गला र मालिका गाउँपालिकाको विभिन्न वडामा लगाइएको सुन्तला खेतीमा औंसा किराको प्रकोप देखिएको छ । यस वर्ष सुन्तलाका दाना (फल) ठूला लागेका भए पनि औंसा किराको प्रकोपले झर्न थालेपछि सुन्तला उत्पादन घट्ने कृषि ज्ञान केन्द्र म्याग्दीले जानकारी दिएको छ ।
सुन्तलाको बोटमा औंसा किरा लागेका कारण यसपटक २० देखि २५ प्रतिशतले सुन्तला उत्पादन घट्ने ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले जानकारी दिए । “सुन्तलामा रोग किराको प्रकोप देखिएपछि हामीले स्थलगत अनुगमन गरेका छौं,” अधिृकत पौडेलले भने, “आवश्यक तालिम र किरा लागेर झरेका दाना सङ्कलन गर्न किसानहरुलाई प्लाष्टिक सहयोग गगरेका छौं ।”
पाक्न लागेको समयमा बोटमा औंसा किरा लागेर सुन्तला झर्न थालेपछि कृषकहरु पीडामा रहेको बास्कुनाका अगुवा कृषक तिलक गुरुङले गुनासो गरे । गत वर्ष बास्कुना–सुर्केमेला र थामडाँडाका किसानहरुले सुन्तला बिक्रीबाट ४० लाख रुपैयाँ गाउँमा भित्र्याएका थिए । तर यस वर्ष अधिकांश कृषकको बोटमै सुन्तला झर्न थालेको हुँदा उत्पादनमा कमी आउने देखिएको छ ।
बास्कुना क्षेत्रमा उत्पादित सुन्तला बास्कुना कृषि सहकारीमार्फत बिक्री वितरणको व्यवस्था मिलाइएको छ । प्रतिकेजी ६५ रुपैयाँ मूल्य तोकिएको सुन्तला बिक्रीबाट उत्पादनको २ प्रतिशत रकम सहकारीलाई दिइने अध्यक्ष गुरुङको भनाइ छ । गएको आर्थिक वर्षसम्म म्याग्दीमा कुल ७ सय ६ हेक्टर क्षेत्रफलको जमिनमा सुन्तला खेती गरिएकोमा त्यसमध्ये ३ सय ३५ हेक्टरमा लगाएको सुन्तलाले उत्पादन दिएको थियो । गतवर्ष २ हजार ४ सय १२ मेट्रिक टन सुन्तला उत्पादन भएकोमा वार्षिक ७ दशमलव २ प्रतिशत उत्पादकत्व रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
यसवर्ष थप २४ हेक्टरको जमिनमा सुन्तला खेती विस्तार गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । म्याग्दी जिल्लामा स्थानीय (लोकल) जातको सुन्तला लगाउने गरिएको छ । जिल्लाको भकिम्ली, सिङ्गा, ताकम, विम, देवीस्थान, मुदी, मराङ, बेगखोला, बराङ्जा, दाना, नारच्याङ, भूरुङ–तातोपानी, दोवा, घार, घतान, पात्लेखेत, राखुभगवती र पिप्ले सुन्तला उत्पादनका हिसाबले पकेट क्षेत्र मानिन्छन् ।

