बेनी
पुस १५
कोरोना महामारीका कारण विश्व आक्रान्त बनिरहेको बेला बेलायत, अमेरिका, भारतलगायतका मुलुकमा नयाँ प्रजातिको कोरोना भाइरसबाट सङ्क्रमित फेला परिरहेका छन् । छिमेकी भारतमा समेत नयाँ खाले कोरोनाबाट सङ्क्रमित पाइएसँगै नेपालमा पनि यसको त्रास बढेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख वासुदेव पाण्डेका अनुसार यो भाइरसलाई ‘सार्स कोभिड २ भ्यारिएन्ट’ नाम दिइएको छ । नेपालमा पनि सजगता अपनाउनका लागि अहिले सङ्क्रमित देशबाट आउनेहरूलाई सरकारले निगरानीसमेत गर्न थालेको छ । नयाँ प्रजातिको भाइरस के हो ? यसबाट कसरी सचेतना अपनाउने भन्नेबारे डा वासुदेव पाण्डेको धारणा यस्तो छः
नेपालमा कोभिड–१९ को खोप ल्याउने तयारी भइरहेको बेला नयाँ प्रजातिको भाइरसको त्रास देखिन थालेको छ । वास्तवमा यो कस्तो खालको भाइरस हो ?
भाइरस त नयाँ आइरहने कुरा हो । भाइरसको प्रकृति सामान्यतया यो समयअनुसार परिवर्तन हुन्छ । परिवर्तन भएपछि समाजमा मिल्दै जाने हो । बेलायतमा नयाँ प्रकृतिको भाइरस देखापरेको छ । यो भाइरसले अघिल्लो भन्दा ७० प्रतिशतभन्दा बढी सर्ने क्षमता बोकेको अनुसन्धानबाट देखिएको छ ।
परीक्षण गर्ने तरिका फरक छ कि एउटै हो ?
केही प्रक्रिया फरक छन् । अहिले यहाँ परीक्षण गर्न सकिएन भने बाहिर नै पठाउनुपर्छ ।
कोभिड–१९ भन्दा बढी प्रभाव पार्छ त यसले ?
मान्छेको मृत्यु हुने भन्ने त हुँदैन । अहिलेसम्म यस्तो थाहा भएको छैन । यो भाइरसले धेरै मान्छेलाई सार्छ भन्ने कुराचाहिँ अनुसन्धानले देखाएको छ ।
नेपालमा युके, अमेरिकाबाट नागरिक आउने क्रम जारी छ । नेपालमा कन्ट्याक्ट ट्रेसिङको पाटोमा के भइरहेका छन् ?
जुन देशमा यो भाइरस संक्रमण छ त्यो देशबाट आउने मान्छेको सूची एयरपोर्टबाट हामीले पाएका छौं । त्यहाँ हाम्रो टिम नै बसेको छ । उनीहरूको नाम सूची तयार गर्ने, कसैलाई लक्षण देखियो भने अस्पतालमा भर्ना गर्ने, प्रदेशतिर गइरहेका छन् भने प्रदेशमा खबर गरेर कन्ट्याक्ट ट्रेसिङ गर्ने ।
अर्कोचाहिँ स्थानीयले पनि कन्ट्याक्ट ट्रेसिङ गरिरहेका छन् । टिम तयार भएको हुँदा सहज छ । पहिलेजस्तो १५ २० जनाले गर्ने होइन । अहिले टिम धेरै छ ।
अर्को कुराचाहिँ हामीले पूर्व तयारी त सधैं गरिरहनुपर्छ । यसको समस्या समाधा भए पनि अर्को भाइरस आउँछ । हामी सधैं तयारीका साथ बस्नुपर्छ ।
यो भाइरसका लागि नागरिकले ध्यान दिनुपर्ने कुरा के छन् ?
मास्क लगाउने, सरसफाइमा ध्यान दिने, सामाजिक दूरी कायम गर्ने नै हुन् । तर, अहिले सचेतना भन्ने कुरा फिटिक्कै देखिन्न । जुलुसहरूले झन् संक्रमण फैलाउने डर बढिरहेका छन् । बाटो हिँड्दा पनि कठिन छ । सावधानी अपनाउनुपर्यो ।
हामीले सचेतता अपनाऔं भनिरहेका छौं । कोरोनाकै अर्को वेभ पनि शुरु हुन सक्छ । मानिसहरूले सचेतना अपनाउन छाडिसके ।
नयाँ प्रजातिको भाइरसबारे पनि सजग भइरहनुपर्छ । मानिसहरूमा म त्रास देख्दिनँ । तर, पहिलेभन्दा छिटो र धेरैलाई सार्ने भएको हुँदा हामीले ध्यान नदिई सुखै छैन ।