Notification

×

Iklan

Iklan

रघुगङ्गाको बेगमा पालिकास्तरीय अस्पताल बन्ने

Wednesday, December 30, 2020 | December 30, 2020 WIB Last Updated 2021-12-30T03:24:40Z

 बेनी

पुस १५




रघुगङ्गा गाउँपालिकाको पालिकास्तरीय अस्पताल बेगमा बन्ने भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधबार सम्पन्न नवौं गाउँसभाले बेगमा अस्पताल बनाउने टुङ्गो लगाएको हो । ‘एक स्थानीय तह एक अस्पताल’ योजना अन्तर्गत संघीय सरकारमार्फत् निर्माण हुन लागेको अस्पताल भवनका लागि गाउँपालिकाको केन्द्र मौवाफाँट, रघुगंगा–३ पिप्लेको स्वास्थ्य चौकी र बेग स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्ने भन्नेबारे विवाद भएपछि गाउँसभामार्फत ठाउँको टङ्गगो लगाइएको हो । यो निर्णयसँगै रघुगङ्गा गाउँपालिकाको १० शैयाको आधारभूत अस्पताल बेगमा बन्ने निश्चित भएको छ ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले गाउँपालिकाको केन्द्र मौवाफाँट, वडा नम्बर ३ को पिप्ले र वडा नम्बर १ बेगको तीनओटा विकल्पमाथि मतदान भएकोमा बहुमतबाट बेगमा अस्पताल बनाउने टुङ्गो लागेको जानकारी दिए । गाउँसभामा कायम ४२ जना सदस्यमध्ये बुधबारको सभामा ३५ जना सहभागी रहेको र मतदान प्रक्रियामा सामेल ३० जनामध्ये २६ जना सदस्यले बेगको पक्षमा मतदान गरेको अधिकृत सुवेदीले जानकारी दिएका छन् ।


तर, अस्पताल भवनको विषय बहुमतबाट टुङ्ग्याउने सवालमा फरक मत राख्दै रघुगङ्गा–३ का वडा अध्यक्ष जीवन मल्ललगायत पिप्लेका ३ जना जनप्रतिनिधिले फरकमत राखेका छन् ।




एक स्थानीय तह एक अस्पताल कार्यक्रमका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेढ वर्षअघि रघुगङ्गा–१ को बेगलाई छनोट गरेको थियो । तर, २०७७ साल कात्तिक २० गते बसेको कार्यपालिका बैठकले सबैलाई पायक पर्ने र सहज हुने कराण देखाउँदै गाउँपालिकाको केन्द्र मौवाफाँटमा अस्पताल बनाउने निर्णय गरेको थियो । यता, गाउँ कार्यपालिकाको निर्णयसँग बाझिने गरी सरकारले अस्पतालमा स्तारोन्नति हुने स्वास्थ्यचौकीको सूचीमा पिप्ले स्वास्थ्य चौकीको नाम राखेपछि गाउँपालिकास्तरीय अस्पताल कहाँ बनाउने भन्ने विवाद बढेको थियो । 


अस्पताल बनाउने ठाउँको टुङ्गो नलाग्दा गत मङ्सिर १५ गते भवनको शिलान्याससमेत हुन सकेको थिएन ।अस्पताल भवन कहाँ बनाउने भन्ने विषयमा अन्योल कायमै रहँदा बेग र पिप्लेका स्थानीयहरु दबाव दिनकै लागि गाउँपालिका केन्द्रमा जम्मा हुने गरेका थिए ।


×
Berita Terbaru Update