बेनी
पुस १६
बन्द भएको झण्डै १० महिनापछि मुस्ताङको पर्यटन क्षेत्र खुला भएको छ । विश्वव्यापी बनेको कोरोना महामारी (कोभिड–१९) को जोखिमसँगै गत चैत दोस्रो सातादेखि बन्द गरिएको मुस्ताङको पर्यटन क्षेत्र आन्तरिक र बाहिरी दबावपछि खुल्ला गरिएको हो । सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) का कारण बन्द भएका मुस्ताङका होटलसमेत यो निर्णयसँगै खुला गरिएका छन् ।
मुस्ताङ होटल व्यवसायी संघको विशेष पहल र होटल व्यवसायीको सहमतिअनुसार होटल खोल्ने निर्णय भएको हो । योसँगै अब मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ ।
मुस्ताङ उद्योग वाणिज्य संघ तथा होटल व्यवसायी संघ मुस्ताङका अध्यक्ष खगेन्द्र तुलाचनले पुस १३ गतेदेखि मुस्ताङका होटल सञ्चालनमा आएको जानकारी दिए ।
भाडामा लिएर होटल सञ्चालन गर्दै आएका व्यवसायीहरु कोरोना महामारीका कारण विस्थापित हुने अवस्था आएको थियो । यस वर्षको गर्मी र शरद याममा बन्द गर्नुपरेका कारण मुस्ताङको मात्र नभई देशभरको पर्यटन क्षेत्र थला परेको छ । गण्डकी प्रदेशका अधिकांश जिल्लाका धार्मिक तथा पर्यटकीय स्थल सञ्चालनमा आए पनि हिमाली जिल्ला मुस्ताङमा कोरोना त्रासका कारण होटल खुल्न सकेका थिएनन् ।
मुस्ताङका होटल व्यवसायीहरुको योजना आगामी फागुन १ गतेदेखि होटललगायत पर्यटन क्षेत्र खुल्ला गर्ने पूर्वयोजना रहेको थियो । तर, गतसाता म्याग्दीका होटल व्यवसायी संघ तथा पर्यटनसँग सम्बद्ध अन्य संघसंस्थाहरुले म्याग्दीका पञ्मुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै मुस्ताङको पर्यटन क्षेत्र खुला गर्ने विषयमा सहजीकरण गर्न आग्रह गरेका थिए । यसबाट दबाव सिर्जना भएपछि मुस्ताङका होटल व्यवसायीहरु पनि होटल खोल्न तयार भएका हुन् ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले मुस्ताङ आउजाउ गर्ने पर्यटक तथा सर्वसाधारण व्यक्तिलाई कुनै अवरोध नहुने जानकारी दिइन् । स्थानीय प्रशासन, मुक्तिनाथ क्षेत्र विकास समिति र होटल व्यवसायीको सहमतिमा मुक्तिनाथ दर्शनका लागि मन्दिर खोल्ने योजना रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले उल्लेख गरिन् ।