Notification

×

Iklan

Iklan

लैङ्गिक हिंसाविरुद्ध बेनीमा सडक नाटक

Monday, December 7, 2020 | December 07, 2020 WIB Last Updated 2021-12-30T03:25:01Z

 बेनी

मङ्सिर २३


लैङ्गिक  हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला म्याग्दीमा सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ । यूवा सूचना केन्द्रका किशोरकिशोरीहरुले सोमबार बेनीमा ‘हिंसाको सातौं रङ्ग’ शीर्षकको सडक नाटकको प्रस्तुति गरेका हुन् ।




नेपालको नक्सामा सात प्रदेश बनाई सातओटा सामाजिक सवालहरु सहित युवायुवतीले आफ्नो नाट्य प्रस्तुति दिएको कार्यक्रम संयोजक रञ्जना श्रेष्ठले जानकारी दिइन् । श्रेष्ठका अनुसार इन्द्रेणीका सात रङ्ग, शुभ अङ्क सात, सातले नेपालका सात प्रदेश, सात बार आदिलाई सङ्केत गर्छन् । तर त्यही सात दिन अर्थात् हरेक समय, हरेक ठाउँमा महिलाविरुद्ध अनेकखाले हिंसा भैरहेका छन् भन्ने सन्देशमूलक प्रस्तुति कार्यक्रममा गरिएको थियो । 


संयोजक रञ्जनाका अनुसार नाट्यप्रस्तुतिमार्फत् घरेलु हिंसा, बालविवाह, कामदार महिला, बलात्कार, एसिड आक्रमण, महिलामाथि लाग्ने बोक्सीको आरोप तथा आत्महत्याका सवाललाई मूलरुपमा उठाइएको थियो ।


नेपाल युवा परिषद म्याग्दीका अध्यक्ष छवि आचार्यले झट्ट हेर्दा लैङ्गिक हिंसा एउटा नारी वा महिलाविरुद्ध भएको जस्तो देखिए पनि यसले व्यक्ति, परिवार, समाज र रास्ट्रलाई नै क्षति पु¥याएकोले यसविरुद्ध सबै एकजुट हुनुपर्छ भन्ने सन्देश नाट्य प्रस्तुतिका क्रममा दिइएको बताए ।


यूवा सूचना केन्द्र, म्याग्दीले आयोजना गरेको कार्यक्रमका लागि सङ्गम म्याग्दी र नेपाल युवा परिषद, म्याग्दीले समन्वय गरेका थिए । 


चन्द्रप्रकाश बुढा मगरले निर्देशन गरेको नाट्य प्रस्तुति सडकमा आयोजना गरिएकाले बाटो हिँड्दै गरेका बटुवादेखि सर्वसाधारण सबैले चाख मानेर हेरेको आयोजकले बताएको छ ।


सडक नाटकमा शेरे सुनुवार, पुनम क्षेत्री, सुमि बानिया, रन्जना श्रेष्ठ, सुजता बानियाँ, स्वस्तिका बानिया, पवित्रा सुवेदी, कान्ति पौडेल, प्रतीक्षा खत्री, सुस्मिता बानियाँ, सगुन के.सी, कृष्ण कार्की, धनमाया श्रेष्ठ, सीता वि.क,  अन्जली खत्रीले अभिनय गरेको संयोजक श्रेष्ठले जानकारी दिइन् ।


नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म विश्वभर लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सञ्चालन हुने गरको छ । सोही अभियानअन्तर्गत म्याग्दीमा पनि सडक नाटक प्रदर्शन गरिएको हो ।


×
Berita Terbaru Update