बेनी
मङ्सिर २३
विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर अग्लो कायम भएको छ । आज नापी विभागमा आयोजित कार्यक्रममा नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् । नापी विभागको नेतृत्वमा नेपालले पहिलोपटक आफैँले सगरमाथाको उचाइको सर्वेक्षण गरेको थियो ।
यो घोषणासँगै सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएको छ ।
नेपाल र चीनले छुट्टाछुट्टै गरेको सर्बेमा एकै उचाइ देखिएपछि सगरमाथाको नयाँ उचाइ कायम भएको घोषणा आज गरिएको हो ।
फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्याङ्क नापी विभागकै जनशक्तिबाट नेपालकै प्रयोगशालामा प्रशोधन तथा मित्रराष्ट्र चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भई संयुक्तरुपमा सगरमाथाको उचाइ मापनको परिणाम तय भएको हो ।
नेपालका नापी अधिकृतले २ वर्ष लगाएर सगरमाथाको मापन गरेका हुन् ।
सर्वोच्च चुचुरोको नयाँ उचाइ सार्वजनिक समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्याल तथा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको उपस्थिति थियो । चीनका विदेश मन्त्री वाङ यी पनि भर्चुअल रुपमा समारोहमा जोडिएका थिए ।
नयाँ उचाई उदघोष कार्यक्रममा चिनियाँ पक्ष भिडियो कन्फ्रेन्सका माध्यमबाट जोडिएको थियो ।
परराष्ट्र मन्त्री ज्ञवालीले सगरमाथाको नयाँ उचाई घोषणलाई राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको शुभकामना सन्देश पढेर सुनाएका थिए ।
मंसिर १० गतेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाइ घोषणा गर्न भूमि व्यवस्था मन्त्रालयलाई स्वीकृति दिएको थियो । नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा गएको टोली सगरमाथाको उचाइ मापन पूरा गरेर गत वर्षको जेठ महिनामा काठमाडौं फर्किएको थियो ।
‘ग्लोबल न्याभिगेसन स्याटालाइट सिस्टम’ को प्रयोग गर्दै सगरमाथाको उचाइ लिने काम भएको हो । नयाँ उचाई ६ महिनामा नै उचाइ सार्वजनिक गर्ने भनिए पनि प्राविधिक कारणले नयाँ मिति घोषणा गर्न ढिला भएको थियो ।
नेपाल र चीनबीच संयुक्त रुपमा सगरमाथाको उचाइ घोषणा गर्ने सहमति भएकाले पनि यसले समय लिएको हो ।
गत वर्ष असोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदा नेपाल र चीनका राष्ट्राध्यक्षहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा सगरमाथाको उचाइ संयुक्त रुपमा घोषणा गर्न वैज्ञानिक अध्ययन गर्ने सहमति भएको थियो । दुवै राष्ट्राध्यक्षहरुले ‘सगरमाथा नेपाल र चीनबीच मित्रताको प्रतीक’ रहेको बताएका थिए ।
२०७२ सालको भूकम्पपछि सगरमाथाको उचाइमा घटबढ भएको हुनसक्ने अनुमान गरिएको थियो। चीनले भूकम्पअघि नै सगरमाथाको उचाइ घटेको दाबी गरेको थियो । तर, नेपालले भने सगरमाथाको उचाइ पहिले झै ८ हजार ८ सय ४८ मिटर नै रहेको दाबी गर्दै आएको थियो ।