बेनी
पुस ३
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले एसियाली क्षेत्रमा कोरोना विरुद्धको खोप आउन झण्डै एक वर्षसम्म लाग्न सक्ने जनाएको छ ।
सङ्गठनले एसियामा तत्काल खोप पाउने सम्भावना कम रहेको र ६ महिनादेखि एक वर्षसम्म लाग्न सक्ने जनाएको हो । खोपको विकास र प्रभावकारिताको अवस्था अझै पनि परीक्षणकै क्रममा रहेकाले ढिला हुने सङ्गठनको भनाइ छ । त्यसैगरी खोपको उत्पादन, गुणस्तर व्यवस्थापन र सबैलाई ठाउँठाउँमा पुर्याउने कुरा अर्को चुनौतीको विषय रहेको सङ्गठनले जनाएको छ ।
डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा. ताकेशी कासाइले कतिपय देशहरूले खोप ल्याउनका लागि सम्झौता गरेका तर धेरैजसो देशले अझै पनि शुरु गर्न नसकेका बताएका छन् । एसिया क्षेत्रका देशले सन् २०२१ को मध्य तथा अन्त्यतिर मात्रै खोप ल्याउन सक्ने देखिएको उनले बताए ।
कोरोना भाइरसविरुद्ध खोप विकास भएको र बेलायत, अमेरिकामा भ्याक्सिन दिन थालिएको समाचारले आम सर्वसाधारणलाई थोरै भए पनि राहत दिएको छ । तर, न्युनतम स्वास्थ्य मापदण्ड अपनाउने सवालमा उस्तै लापरवाही समेेत हुन थालेको छ ।
जनस्वास्थ्यविज्ञ समीरमणि दीक्षितले कोभिड विरुद्ध खाेप विकास भए पनि नेपालमा आउन ढिला हुने हुँदा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्नुको विकल्प नभएको सुझाव दिएका छन् ।