Notification

×

Iklan

Iklan

नौ महिनापछि खुले म्याग्दीका धार्मिक तथा पर्यटकीय क्षेत्र

Thursday, December 17, 2020 | December 17, 2020 WIB Last Updated 2021-12-30T03:24:52Z

 बेनी

पुस ३


कोरोना भाइरस (कोभिड–१९) को जोखिमका कारण बन्द भएका म्याग्दीका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु नौ महिनापछि खुलेका छन् । 





महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको जोखिमले बन्द भएका पर्यटकीय क्षेत्रका होटल र धार्मिकस्थल बुधबारदेखि श्रद्धालु भक्तजन तथा पर्यटकका लागि खुला गरिएको हो ।


राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने विश्व प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलका होटल नौ महिनापछि खुलेका छन् । 




यसैगरी म्याग्दीको गलेश्वरधाममा रहेको शिवालय मन्दिर, बेनी नगरपालिका–६ मा रहेको पौलस्त्य पुलहाश्रम, ५ वडामा रहेको जगन्नाथ धाम तथा अन्य मठमन्दिर पनि भक्तजनका लागि खुला गरिएको छ ।


सरकारले जारी गरेको जनस्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डको पालना गरी बन्द रहेका होटल, रेस्टुरेन्ट र धार्मिकस्थल खुला गरिएको छ । 


लामो समयसम्म होटल बन्द रहँदा व्यवसायमा पनि असर गरेकाले सुरक्षा सतर्कता अपनाएर सम्पूर्ण होटल खुला गरिएको घोडेपानीका होटल व्यवसायी बलराम पुनले जानकारी दिएका छन् ।




घोडेपानी टोल विकास समितिको निर्णयअनुसार होटेल व्यवसाय खुला भएको पर्यटन प्रहरी चौकी घोडेपानीले जनाएको छ । पर्यटकका लागि घोडेपानी लगायतका क्षेत्र खुला गर्नुपर्ने माग यसअघि उठेका थिए तर, स्थानीयले भने जनस्वास्थ्यभन्दा पैसा ठूलो नभएको भन्दै सो प्रस्ताव अस्वीकार गरेका थिए ।


घोडेपानीमा मात्रै साना–ठूला गरी ३५ होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् ।


होटल तथा रेस्टुरेण्ट व्यवसायी सङ्घ, म्याग्दीले दिएको जानकारी अनुसार जिल्लामा कुल दुई सय ३७ वटा होटल छन् । तीमध्ये २० वटा एसीसहितका होटल हुन् भने पाँच सय ६४ वटा एट्याच होटल रहेकोमा सात सय ७५ वटा साधारण खालका होटल छन् ।


कुल तीन हजार एक सय १२ वटा बेड रहेका होटलमा एक रातमा चार हजार नौ सय ४९ जनाको क्षमता छ । म्याग्दीको होटल क्षेत्रमा झण्डै पाँच अर्ब रुपैयाँ लगानी भएको बताइएको छ ।


कोरोना भाइरसको जोखिम बढेपछि सरकारले गत वर्षको चैत दोस्रो सातादेखि यातायात, शिक्षण संस्था, धार्मिक तथा पर्यटकीय क्षेत्रका साथै जमघट हुने खालका सबै क्षेत्रलाई बन्द गर्ने निर्णय गरेको थियो ।



×
Berita Terbaru Update