बेनी
पुस १०
प्रतिनिधि सभाको विघटन भएपछि सत्तारुढ दल नेकपा दुई चिरामा बाँडिएको छ । प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल पक्षधर खेमाले कार्यकर्ता तान्नका भेला, प्रशिक्षण था आन्दोलनसम्मका कार्यक्रम सार्वजनिक गरिसकेका छन्।
पार्टीमा ओली र प्रचण्डबीच बेलाबेलामा भइरहने खटपट मिलाउन सधैं सक्रिय रहेका महासचिव विष्णुप्रसाद पौडेलले पार्टी विभाज हुनुअघि कस्ताकस्ता खेलहरु भए भन्नेबारे बुधबार लुम्बिनी प्रदेशका नेताहरुलाई यसको भित्री कथा सुनाएका थिए ।
प्रस्तुत छ, पौडेलको भनाइ जस्ताको त्यस्तै
एमाले–माओवादी नभन्नुस्
हामी अहिले विशेष अवस्थामा आइपुगेका छौं । नेपालको कम्युनिष्ट आन्दोलनले एउटा नयाँ घुम्ती, नयाँ मोड तय गर्नुपर्ने परिस्थिति निर्माण भएको छ । हामीले हाम्रो सामथ्र्यलाई नयाँ उँचाइबाट पुनर्पुष्टि गर्नुपर्ने परिस्थिति निर्माण भएको छ ।
हामीले हिजो विभाजित कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले एकताबद्ध ग¥यौं । त्यो युगको आवश्यकता थियो, समयको माग थियो । परिस्थितिको निर्देशन थियो । त्यसमा हामीलाई अहिले कुनै पश्चात्ताप छैन। तर, त्यो एकताको जगमा उभिएर आन्दोलनलाई जसरी अगाडि बढाउनुपथ्र्यो, त्यसरी जान सकिएन ।
पार्टीको एउटा हिस्सा यो भन्दा पृथक ढङ्गले चल्यो । जसले गर्दा आन्दोलनमा यो संकट सिर्जना भएको छ । यो संकट सिर्जना हुनुमा एमाले वा माओवादी भनेर वर्गीकरण गर्ने विषय छैन । बाटो बिराएका, अलमलिएका साथीहरुलाई पनि हामीले मार्गदर्शन गर्न सक्छौं ।
सही विचार र सही नेतृत्वको धार हामीले प्रतिनिधित्व गर्छौं, उहाँहरुलाई हामी यही धारमा समाहित गरेर जान्छौं । म तपाईंहरुलाई भन्न चाहन्छु कि माओवादी, एमाले भन्ने कोणबाट प्रस्तुत नहुनुहोला ।
हामी कसैले पनि कल्पना गरेको भन्दा पृथक् परिस्थिति प्रकट भएको छ । पार्टी एकताको काम गरिरहँदा असाधारण उत्साह देखा परेको थियो । संविधान निर्माण भएपछि हामीले एउटा यस्तो व्यवस्था ग¥यौं, जसअन्तर्गत कुनै पनि दललाई बहुमत प्राप्त गर्न सजिलो छैन ।
मिश्रित निर्वाचन प्रणाली यति जटिल छ कि यसले सहजै कसैलाई बहुमत प्राप्त गर्न दिंदैनन् । यस्तो अवस्थामा हामीले के सोच्यौं भने, संविधान कार्यान्वयन गर्न, मुलुकलाई समृद्धितर्फ लैजान बहुमत प्राप्त गर्न जरुरी छ । एक्लाएक्लै बहुमत प्राप्त गर्न सम्भव थिएन, त्यसैले अब हामी चुनावी तालमेलमा जाउँ भन्ने भयो ।
बडादशैंको त्यो दिन
चुनावी तालमेलमा जाँदा हामीले तीन वटा कुरा सोचेका थियौं ।
पहिलो कुरा, हाम्रो दृष्टिकोण फरक छ । हाम्रो अभ्यास फरक छ । हाम्रा सबल, दुर्बल पक्षहरु फरक छन् । त्यसैले गर्दा रातारात हामीलाई एकताबद्ध हुन सम्भव पनि छैन । त्यसै हुनाले हामी चुनावी तालमेलमा जाऔं ।
अर्को थियो, साझा मुद्दा लिएर जाने र एउटै चुनाव चिह्नमा चुनाव लड्ने । म तपाईंहरुलाई भन्न चाहन्छु, २०७४ सालको असोज १४ गते । त्यो बडादशैंको दिन थियो । त्यो दिन दुई पार्टीका दुई अध्यक्षबीच लिखित सम्झौता भयो । त्यो सम्झौताको साक्षी म र जनार्दन शर्मा थियौं । त्यो सम्झौतामा हामी सूर्य चुनाव चिह्न लिएर निर्वाचनमा जान्छौं भन्ने थियो ।
उहाँहरुको चाहना, प्रधानमन्त्रीलाई अध्यक्षबाट हटाउने, माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने । त्यसपछि प्रधानमन्त्री खाली हुन्छ । प्रचण्ड प्रधानमन्त्री बन्ने थियो । प्रधानमन्त्री बन्ने र पार्टी अध्यक्ष बन्ने इच्छा यस्तो भयो कि चैतसम्म पनि उहाँहरुले कुर्न सक्नु भएन ।
साझा उम्मेदवार र साझा घोषणापत्र लिएर हामी चुनावमा जान्छौं भनेर लिखित सम्झौता थियो । त्यो सम्झौताको धेरै ठूलो अर्थ र तात्पर्य थियो । त्यसको धेरै ठूलो महत्व थियो ।
त्यो सम्झौताका दुइटा कुरा साझा उम्मेदवार र साझा घोषणापत्र कार्यान्वयन भयो तर साझा चुनाव चिह्न कार्यान्वयन भएन । त्यो लिखित सहमतिबाट २४ घण्टा पनि नबित्दै प्रचण्ड कमरेड पछाडि फर्किनुभयो । उहाँले मैले साथीहरुलाई सम्झाउन सकिनँ, सूर्य चिह्नमा चुनाव लड्न नसकिने भयो भनेर भन्नुभयो ।
जबकि सबैभन्दा महत्वपूर्ण साझा घोषणापत्र थियो । साझा घोषणापत्र बन्ने, साझा उम्मेदवार बन्ने र साझा चुनाव चिह्नमा सहमति नहुने ।
यदि हामी साझा चुनाव चिह्नमा चुनाव लडेका थियौं भने पार्टी दुइटा हुन्थे, संसदीय दल एउटा हुन्थ्यो । संविधानले सूर्य चिह्न लगेर चुनाव लडेको दललाई चिन्थ्यो र त्यसअन्तर्गत दुइटा पार्टी एक पनि हुन्थे । अनि दल विभाजन गर्नका लागि ४० प्रतिशत सांसद चाहिने जुन कुरा सम्भव हुँदैनथ्यो । र, पार्टी एकताको बलियो आधार तयार गथ्र्यो ।
नीतिगत प्रश्न, संगठनात्मक प्रश्न, नेतृत्वको प्रश्नमा पनि एउटा साझा आधार निर्माण गर्न त्यसले मदत गथ्र्यो । धेरै हतार गर्नुपर्ने अवस्था पनि हुँदैनथ्यो । हामीले त्यो सोचेर त्यो सहमतिमा पुगेका थियौं तर लागू हुन सकेन ।
प्रचण्डले यस्तो खेल शुरु गरे
हामी चुनावमा गयौं । चुनावबाट एउटा खाले मत प्राप्त भयो । स्वाभाविक रुपमा केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री बन्ने आधार तयार भयो । उहाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभयो ।
शपथ ग्रहण गर्न जाने बेलामा फेरि एउटा समस्या सिर्जना भयो । त्यतिबेला प्रधानमन्त्री तत्कालीन माओवादीलाई पनि शपथग्रहणमा सँगै लगेर जान चाहनुहुन्थ्यो । तर, त्यति नै बेला एउटा खेल शुरु भइसकेको थियो । खेल के शुरु भइसकेको थियो भने, कांग्रेसलगायतसँग मिलेर प्रधानमन्त्री बन्न पाइन्छ कि भनेर प्रचण्डले साथीहरुलाई शपथ ग्रहण समारोहमा पठाउनु भएन ।
अर्थात् चुनाव चाहिँ एमाले र माओवादी भएर लड्ने । सरकार कांग्रेससँग मिलेर बनाउन खुट्टा उचाल्ने । अस्थिरतालाई सुनिश्चित गर्नका लागि, राजनीतिक स्थायित्वका लागि, बहस छलफलबाट साझा निष्कर्षमा पुग्नका लागि हामीले, कम्युनिष्ट आन्दोलनलाई नयाँ चरणमा लैजानका लागि हामीले शिघ्र एकता गर्ने पहल ग¥यौं । र, २०७५ साल जेठ ३ गते पार्टी एकता सम्पन्न भयो ।
पार्टी एकतापछि हामीले ठानेका के थियौं भने, पार्टीको आन्तरिक जीवनमा विभिन्न समस्या, अन्तरविरोधहरु उत्पन्न हुनेछन् । समस्या त सिर्जना हुने छन् । तर, त्यो विभाजनको तहमा प्रकट होला भन्ने हाम्रो अनुमान थिएन । तर, हाम्रो अनुमान चाहिँ पछिल्ला घटनाक्रमले असफल बनाइदियो ।
समस्या सिर्जना हुन्छ । अनेक बहस गर्छौं, समाधान निस्कँदैन । एउटा समझदारीबाट एक हप्ता चल्न भ्याइएको हुँदैन, फेरि समस्या सिर्जना हुन्छ । एक महिना अगाडिको काम गर्न भ्याइएको हुँदैन, फेरि समस्या सिर्जना हुन्छ । यसरी हामी समस्या–समाधान, समस्या–समाधानको विशेष सर्कलमा हामी फस्दै गएको जस्तो अवस्था देखिन थाल्यो ।
पछिल्लो पटक अब पार्टी फुट्ने भो भन्ने परिस्थिति देखिएपछि हामीले जोगाउनका लागि सक्दो प्रयास ग¥यौं । पार्टी जोगाउन धेरै चोटि कोसिस गरियो, सफल भइयो । तर, यसचोटि सफल हुन सकिएन । एकचोटि सफल हुन नसकेपछि सबै कुरा व्यर्थको जस्तो देखिने भयो ।
क्याबिनेटलाई फोटोकपी बनाउन खोजियो
पछिल्लो चोटि हामीले कार्यदल बनाएर, कार्यदलमा सहमति कायम गरेर, त्यसलाई स्थायी कमिटीमा प्रस्तुत गरेर, स्थायी कमिटी बैठकले पनि कार्यदलको बैठकलाई सर्वसम्मत रुपमा स्वीकार ग¥यो । हामीले स्थायी कमिटीबाट अनुमोदन गरी विवाद समाधान गर्न सफल भयौं । भदौ २६ गतेको निर्णयले पार्टी कमिटीमा एक प्रकारको नयाँ आशा संचार पनि गरेको थियो कि, अब शायद समस्याको पुनरावृत्ति हुँदैन होला ।
तर, बैठक कक्षबाट हामी बाहिर निस्कँदै गर्दा सुनिरहेका थियौं–यो लामो समय चल्दैन । हामीले साचेका थियौं, भदौ २६ ‘कम्प्रोमाइज’को एउटा मोड हो । हामी कम्प्रोमाइजमै अल्झिएर बस्दैनौं, हामी हाम्रो तयारीलाई अगाडि बढाउँछौं भन्ने कुरा आएका थिए ।
हामीलाई लागेको थियो–त्यो ढङ्गले अगाडि जाला र ? तर, परिस्थिति त्यही ढंगले अगाडि बढ्यो । भदौ २६ को सर्वसम्मत निर्णय मानेर अगाडि बढ्नुपर्नेमा त्यो कार्यान्वयन हुन नसक्ने र कुनै पनि काममा लगाउन नसकिने अवस्था सिर्जना भयो ।
मन्त्रिपरिषद् पुनर्गठन गरौं भन्यो, त्यहाँ सहमति नहुने । संवैधानिक परिषद बसौं भन्यो, न त्यहाँ सहमति हुन्छ । न बैठक आयोजना गर्ने कुरामा सहमति हुन्छ, न व्यक्तिका बारेमा सहमति हुन्छ ।
कुनै पनि विषयमा त्यस प्रकारको अनिर्णयको बन्दी बन्दै जाने अवस्था पार्टी जीवनमा देखाप¥यो । सरकार छ, तर काम गर्न पाउँदैन । सरकार छ, निर्णय गर्न पाउँदैन ।
कस्तो खालको एउटा मानक स्थापित गर्न खोजियो भने सबैभन्दा पहिले कम्युनिष्ट पार्टीको बैठक बसोस् र त्यहाँ जे निर्णय हुन्छ, क्याबिनेटले त्यो फोटोकपी गरोस् ।
त्यो पत्र जसले विभाजनको आधार तय ग¥यो
सहमतिका लागि के भयो, कति कोसिस गरियो भन्ने कुराको बेलिविस्तार लगाउन छुट्टै समय चाहिन्छ ।
सचिवालयका ७६–७७ वटा त बैठक बसियो । त्यो बैठकमा अनेक विषयमा छलफल भएका छन् । सचिवालयको बैठक बस्ने कि नबस्ने, यसमा सहमति जुट्ने कि नजुट्ने ? बैठक आयोजना गर्नकै लागि अर्को पहल गर्नुपर्छ कि भन्ने खालको स्थिति नै होइन ।
तर अनायास, एक दिन पाँच जना कमरेडहरुको बैठक सञ्चालन गर्न हस्ताक्षर आयो । विधानमा के छ भने बैठकको आयोजना अध्यक्षको महासचिवसँग परामर्श हुन्छ र त्यसका आधारमा महासचिवले बैठक बोलाउने । दुई अध्यक्ष बसेर महासचिवलाई बोलाएर बैठक कहिले बस्ने, के के एजेन्डा राख्ने भनेर भन्नुपर्ने ठाउँमा उहाँहरु पत्रतिर जानुभयो ।
त्यसले एउटा समस्या सिर्जना ग¥यो । त्यसमा लेखिएका आरोपहरु गलत हुन् भनेर अर्को पत्र लेख्नुपर्ने अवस्था सिर्जना भयो । त्यसपछि एउटा यस्तो खालको ठाडो पत्र तयार भयो ।
उहाँलाई (प्रधानमन्त्री) लक्षित गरेर जस्ता खालको आरोप लगाइएको छ, ती निराधार त छँदैछन् त्यसले पार्टीमा एकताका सम्पूर्ण आधारहरुलाई समाप्त पारिदियो । विभाजनको आधार तयार पार्न खोजिएको भन्ने प्रष्ट भयो ।
स्वाभाविक रुपमा कमरेड केपी शर्मा ओलीले यो विषय छलफलको विषय हुन सक्दैन, यो फिर्ता लिनुपर्छ भन्ने अडान लिनुभयो । त्यसको जवाफस्वरुप उहाँले आफ्नो दस्तावेज नै पेश गर्नुभयो ।
हामी दुर्घटनाको डिलमा धेरै पहिले देखि पुग्दै पुग्दै आएको हो । दुर्घटनाको बीचमा छौं, तर जोगिंदै पनि आएका छौं । खस्छौं खस्छौं भन्ने अवस्थामा छौं, तर हामी खसिहालेका छैनौं । यस्तो अवस्थाबाट हामी गुज्रिएर आएका थियौं ।
चैतसम्म पनि पर्खिन मान्नु भएन
उहाँहरुले हस्ताक्षर लिएर राष्ट्रपति कार्यालय जानुभयो । पछि त्यो फिर्ता भए पनि मानसिकता फिर्ता भएको थिएन । मैले भनेको थिएँ,केपी कमरेडमाथि जुन आरोप लगाउनुभएको छ तपाईंको आरोप निराधार हो । उहाँको स्वभाव अनुसार उहाँ बालकोट गएर बस्नुहोला कि त्यसको डटेर सामना गर्नुहोला ? त्यो त सामान्य रुपमा अनुमान गर्न सकिने विषय थियो ।
सहमतिका लागि केपी ओलीले धेरै विकल्प प्रस्ताव गर्नुभएको छ । ठूलो महाधिवेशन गर्न सकिन्न भने विशेष महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्छु भन्नुभएको छ । चैत पनि उहाँहरुलाई टाढा भयो । उहाँहरुको चाहना, प्रधानमन्त्रीलाई अध्यक्षबाट हटाउने, माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने । त्यसपछि प्रधानमन्त्री खाली हुन्छ । प्रचण्ड प्रधानमन्त्री बन्ने थियो ।
प्रधानमन्त्री बन्ने र पार्टी अध्यक्ष बन्ने इच्छा यस्तो भयो कि चैतसम्म पनि उहाँहरुले कुर्न सक्नु भएन । त्यो मानसिकता भएपछि अरु कसैका लागि सहमति गर्ने कुरा पनि भएन ।
जब प्रधानमन्त्रीले त्यस्तो भन्नुभयो
पाँच गते बिहान प्रधानमन्त्रीले बोलाएर हामीलाई भन्नुभयो–साथी हो उनीहरु अविश्वासको प्रस्ताव दर्ता गर्नका लागि ‘मूभ’ भइसकेका छन् । यो मुलुकलाई नेपालको कम्युनिष्ट आन्दोलनलाई दुर्घटनातिर धकेल्ने कोसिस हो । त्यसकारण म यस खालको कुरालाई हेरेर बस्न सक्दिनँ । मैले राजनीतिक रुपमा प्रतिवाद गर्छु । संसद विघटनमा जान्छु भनेर उहाँले जानकारी दिनुभयो । त्यसपछि मन्त्रिपरिषद बैठकमा जानुभयो । प्रतिनिधिसभाको विघटन गरेर ताजा जनादेशका लागि जनतामा जाने भन्नुभयो ।
(ओली पक्षले नयाँ केन्द्रीय सदस्यहरुलाई प्रशिक्षित गर्न प्रदेशगत रुपमा आयोजना गरेको लुम्बिनी प्रदेशको भेलालाई पौडेलले गरेको सम्बोधनको संपादित अंश ।)