बेनी
पुस १२
बन्द अवस्थामा रहेको मुस्ताङको पर्यटन तथा सेवाक्षेत्र खुलाउन पहल गरिदिन भन्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ । आइतबार जिल्ला प्रशासन कार्यालयमा पुगेर होटल व्यवसायी संघ म्याग्दीले प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो । गत चैतदेखि बन्द भएको मुस्ताङको पर्यटक क्षेत्र खुला नहुँदा त्यसको सोझो असर म्याग्दीको सेवा क्षेत्रमा परेको भन्दै आवश्यक समन्वयका लागि म्याग्दीका सिडिओलाई ज्ञापनपत्र बुझाइएको हो ।
होटल व्यवसायी संघ, म्याग्दीका अध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम)ले मुस्ताङको पर्यटन व्यवसाय बन्द हुँदा म्याग्दीको होटल व्यवसायमा असर परेकोले आवश्यक पहल गर्न अनुरोध गर्दै ज्ञापनपत्र बुझाएको जानकारी दिए । “सरकारले लकडाउन (बन्दाबन्दी) अन्त्य गरी सार्वजनिक क्षेत्र खुला गर्दै गएको छ । तर, मुस्ताङले भने महामारीको बहानामा पर्यटकीय क्षेत्र बन्द गरेपछि आवश्यक पहल गरिदिन भन्दै ज्ञापनपत्र बुझाएका छौं,” अध्यक्ष आचार्यले भने, “कि त मुस्ताङका नागरिक पनि जिल्लाबाहिर आउजाउ गर्न भएन, होइन भने पर्यटन क्षेत्रमात्रै बन्द गर्नुको औचित्य नदेखिएपछि संघले पहल गरेको हो ।”
बाहिरी जिल्लाबाट मुस्ताङ प्रवेशमा रोक लगाएका मुस्ताङबासी आफुहरुचाहिँ विभिन्न कामका लागि भन्दै मुस्ताङबाहिर आउजाउ गरिरहेको तर, म्याग्दीसँग जोडिएका मुक्तिनाथलगायतका धार्मिक र पर्यटकीय क्षेत्र बन्द हुनु उपयुक्त नभएको संघले बुझाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
होटल व्यवसायीहरुको ज्ञापनपत्र बुझ्दै प्रजिअ अधिकारीले अहिले देशैभर धार्मिक, पर्यटन, यातायात लगायतका सेवाक्षेत्र खुलेको अवस्थामा मुस्ताङमा पनि न्यूनतम स्वास्थ्य मापदण्ड पालना गरी सेवा क्षेत्र खुला गर्नेबारे सहजीकरण गर्ने बताएका छन्।
सरकारले लकडाउन खुला गरेको महिनौं पुगेको, मुस्ताङका सरोकारवालाहरुले समेत सुरक्षा रणनीति अपनाएर बन्दाबन्दी खुलाउन आग्रह गरेको तर, स्थानीय मुखियाहरुको असहमतिका कारण मुस्ताङको होटललगायतका सेवा क्षेत्र तत्काल नखुलेको सूचना आफुले पाएको प्रजिअ अधिकारीको भनाइ थियो ।
म्याग्दीको घोरेपानीलगायतका पर्यटकीय क्षेत्रहरु पर्यटकका लागि खुल्ला गरिएको छ । तर, मुस्ताङको पर्यटन व्यवसाय नुखल्दा म्याग्दीमा सञ्चालित होटल, रेष्टुरेन्ट, खाजाघरलगायतका सेवा क्षेत्र सुनसान रहेकोले व्यवसायीले भाडा तिर्न नसक्ने अवस्था आएको व्यवसायीहरुको भनाइ छ ।
संघका पूर्व अध्यक्ष गोपाल पौडेलले अहिलेको जस्तै अवस्था रहिरहने हो भने व्यवसायीहरु चरणबद्ध आन्दोलन घोषणा गर्न बाध्य हुने जानकारी दिए ।