बेनी
पुस १२
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले म्याग्दीमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न गरेको छ । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगामी रहेको भन्दै भेलाले विरोधका कार्यक्रम समेत सार्वजनिक गरेको छ ।
घोषित कार्यक्रममा पुस १४ गते सदरमुकाम बेनीमा दबावमूलक विरोध ¥यालीको आयोजना गर्ने, पुस १६ र १७ गते जिल्लाका सबै स्थानीय तहमा भेला, प्रशिक्षण र जागरण अभियान सञ्चालन गर्ने आदि रहेका छन् ।
भेलालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश कमिटी सह–इन्चार्ज यशोदा सुवेदीले कम्युनिष्ट आन्दोलन र जनताको जनमतलाई धोका दिएर प्रधानमन्त्री ओलीले संसद विघटन गराएको विचार व्यक्त गरेकी छिन् । जनादेशबाट निर्वाचित प्रधानमन्त्रीले जनप्रतिनिधिमूलक संस्था नै विघटन गर्नु संविधान विपरीत र अलोकतान्त्रिक कार्य भएको बताउँदै नेता सुवेदीले जनताको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न पनि आन्दोलन आवश्यक भएको धारणा राखेकी थिइन् ।
सोही भेलालाई सम्बोधन गर्दै नेकपा म्याग्दीका जिल्ला अध्यक्ष गोविन्द पौडेलले जनयुद्ध र जनआन्दोलनको जगमा प्राप्त भएका उपलब्धिको रक्षाका लागि सबै क्षेत्रबाट सशक्त प्रतिरोध आवश्यक भएको विचार व्यक्त गरेका थिए ।
त्यसैगरी नेकपा म्याग्दीका कार्यालय सदस्य बालकृष्ण सुवेदीले प्रधानमन्त्रीको कदमलाई कसैले पनि स्वीकार गर्न नसक्ने धारणा राख्दै प्राप्त उपलब्धिको रक्षाका सवालमा विवेक बन्धक राख्न नहुने विचार व्यक्त गरे । जीवन्त पार्टीमा विवाद र बहस हुनु स्वाभाविक कुरा भए पनि प्रधानमन्त्री ओलीले त्यसलाई स्वीकार गर्नुको सट्टा अलोकतान्त्रिक कदम चालेर देश र जनताको भविष्य अन्योलमा धकेलेको सुवेदीको भनाइ थियो ।
नेकपा म्याग्दीका अध्यक्ष पौडेलको अध्यक्षता र राष्ट्रिय यूवा संघका केन्द्रीय सदस्य कृष्णकुमार विश्वकर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा म्याग्दीका प्रचण्ड–नेपाल खेमाका अगुवा नेता–कार्यकर्ताहरुको सहभागिता थियो ।


