बेनी
पुस ६
नेकपाको प्रचण्ड–माधव नेपाल समूहले पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता बनाउने तयारी गरेको छ । सोमबार सम्पन्न सो समूहका सांसदहरुको भेलाले संसदीय दलमा ओलीले बहुमत गुमाइसकेको दावी गर्दै अब प्रचण्डलाई संसदीय दलको नेता चयन गरिने जनाएको हो ।
काठमाडौंस्थित संसद भवनमै बसेको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध खेद प्रस्ताव पारित गरेको बताइएको छ ।
प्रचण्डलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर आइतबार संसद सचिवालयमा उक्त पक्षले अविश्वास प्रस्ताव समेत दर्ता गराएको थियो ।
प्रचण्ड–माधव नेपाल पक्षधर सांसदहरुको सो बैठकले प्रतिनिधिसभा विघटनलाई अस्वीकार गर्दै संसदको नियमित प्रक्रिया अघि बढाउनुपर्ने निर्णय पनि गरेको छ । बैठकलाई प्रचण्ड,झलनाथ खनाल र माधव नेपालले सम्बोधन गरेका थिए ।
अब बुधवार संसदीय दलको बैठक बस्ने विघटित प्रतिनिधिसभाका सदस्य झपट रावलले बताए । सोही बैठकले दलको नयाँ नेता चयन गर्ने उनले बताए ।
प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा दलको नेता चयन राजनीतिक विषयमात्र हुने बताइएको छ ।