बेनी
माघ ३
प्रतिनिधि सभा विघटनको विरोध गर्दै नेपाली कांग्रेस म्याग्दीले पालिका स्तरमा विरोध प्रदर्शन गरेको छ । विघटित प्रतिनिधि सभाको प्रमुख प्रतिपक्षी दल रहेको नेपाली कांग्रेसले ७५३ ओटा स्थानीय तहमा विरोध प्रदर्शन गर्ने कार्यक्रम अन्तर्गत शनिबार म्याग्दीमा पनि कार्यक्रम आयोजना गरिएको हो ।
विभिन्न ठाउँमा भएको विरोध सभालाई जिल्ला सभापति खमबहादुर गर्बुजासहित जिल्लास्तरीय नेताहरुले सम्बोधन गरेका छन् । मङ्गला गाउँपालिकाको बाबियाचौरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै काँग्रेस म्याग्दीका सभापति गर्बुजाले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले संविधानको मर्म र भावना विपरीत कदम चालेकाले विरोध गर्नुपरेको धारणा सुनाएका थिए ।
त्यसैगरी मालिकामा नेपाली काँग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठ र गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगर, मङ्गला गाउँपालिकामा सभापति गर्बुजासहित सचिव मीनबहादुर कार्की, महासमिति सदस्य चिरञ्जीवी शर्मा, जिल्ला सदस्य बलभद्र ढकाल लगायत प्रदेशसभा र गाउँपालिका कार्यसमितिका प्रतिनिधिले सम्बोधन गरेका थिए ।
त्यसैगरी बेनी नगरपालिकामा सम्पन्न विरोध सभालाई सम्बोधन गर्दै निवर्तमान सभापति रेशमबहादुर बानियाँले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको जिकिर गरेका थिए । आफ्नो भाषणका क्रममा नेता बानियाँले प्रधानमन्त्री ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको तर्क गरेका थिए ।
बेनी नगरपालिकाको विरोध सभालाई सचिव तथा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, नेपाल महिला संघ म्याग्दीका सभापति विमला गौचन, नगर सभापति अनोद श्रेष्ठ, किसान संघ म्याग्दीका सभापति सम्मरबादुर केसी, तरुणदल सचिव सुमन बनियाँ, विद्यार्थी संघका सभापति निर्मल खत्री लगायतले सम्बोधन गरेका थिए ।
उता, अन्नपूर्ण गाउँपालिकाको विरोध सभालाई पूर्व जिल्ला सहसभापति नेत्रबहादुर महत, जिल्ला कार्यसमिति सदस्य केबी भण्डारी, ओम छन्त्याल र नेपाल राष्ट्रिय मगर संघ म्याग्दीका अध्यक्ष हिराबहादुर पुन , रघुगंगामा उपसभापति माधवप्रसाद रेग्मी र गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, धवलागिरी गाउँपालिकामा सह–सचिव भरतबहादुर रकाल, गाउँपालिका इकाई सभापति प्रेम पुन र सचिव नगेन्द्र मल्ल लगायतले सम्बोधन गरेको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ ।