बेनी
माघ १४
म्याग्दीका यातायात व्यवसायीले सवारी साधन गुडाउने अनुमति (रुट पर्मिट) लिन बागलुङ धाउनुपर्ने बाध्यताको अन्त भएको छ । पूर्वाधार विकास कार्यालय, म्याग्दीले मङ्गलबारदेखि सवारी साधनको अस्थायी रुट पर्मिट जारी गर्न थालेसँगै बागलुङ पुग्नैपर्ने बाध्यता हटेको हो ।
गण्डकी प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयको गत मङ्सिर ८ गतेको सचिवस्तरीय बैठकले पूर्वाधार कार्यालय रहेका जिल्लाबाटै यातायातका साधन गुडाउने अस्थायी अनुमति (पटके रुट पर्मिट) जारी गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयमा टेकेर सदरमुकाम बेनीस्थित पूर्वाधार कार्यालयले मंगलबारदेखि पटके रुट पर्मिट जारी गरेको कार्यालयका प्रमुख नवराज पौडेलले जानकारी दिए । “विद्यमान कानुनी व्यवस्था अनुसार इजाजत पाएको भन्दा बाहिरी क्षेत्रको सडक प्रयोग गर्दा सवारी साधनले प्रति किलोमिटर दुई रुपैयाँका दरले पटके रुट पर्मिट लिनुपर्ने नियम छ,” कार्यालय प्रमुख पौडेलले भने, “मौजुदा कर्मचारीबाटै काम गर्ने गरी पटके रुट पर्मिट जारी गर्ने मन्त्रालयको अख्तियारीअनुसार जिल्लाबाट पनि इजाजात जारी गरिएको हो ।”
यसअघि बाहिरी जिल्लाबाट म्याग्दी आउने र म्याग्दीबाट बाहिर जाने सवारी साधनका लागि अस्थायी रुट पर्मिट लिनका लागि यातायात व्यवस्था कार्यालय बागलुङ पुग्नुपर्ने समस्या थियो ।
निलगिरी यातायात प्रा.लि.का अध्यक्ष विजय थापाले बेनीमै पटके रुट पर्मिट जारी गर्ने व्यवस्थाले व्यवसायीलाई राहत पुगेको प्रतिक्रिया दिए ।