बेनी
माघ १६
गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले नेपाल पत्रकार महासंघ, म्याग्दी शाखाको कार्यालय भवन बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताएकी छिन् । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको सातौं साधारणसभा तथा छैटौं अधिवेशनको शुक्रबार बेनीमा उद्घाटन गर्दै मन्त्री पुनले उक्त प्रतिबद्धता जनाएकी हुन् ।
“सञ्चार क्षेत्र हेर्ने मेरो जिम्मेवारीभित्र नपरे पनि प्रस्ताव लिएर आएमा बजेटको व्यवस्था हुन्छ,” मन्त्री पुनले भनिन् । “उपयुक्त प्रस्ताव लिएर आउनुस्, बजेटको लागि मैले नै पहलकदमी लिन्छु ।” प्रदेश संरचना नयाँ अभ्यास भएको र आफुहरुले पनि काम गर्दै सिक्ने अवस्था रहेको अनुभव सुनाउँदै मन्त्री पुनले गुनासोमात्रै गर्नेभन्दा पनि समस्याको बीचमा समाधान खोज्न आग्रह गरेकी थिइन् । “सञ्चार क्षेत्र नै हतोत्साहित भए जनतामा आशाको सञ्चार हुन सक्दैन,” मन्त्री पुनले भनिन्, “समस्या छन् भने आपसमा बसी छलफलबाटै समाधान खोज्न सकिन्छ, तर, आरोपप्रत्यारोप र गालीगलौजले कसैलाई फाइदा गर्दैन ।” सत्तारुढ नेकपामा देखिएको विभाजनबारे बोल्दै मन्त्री पुनले भनिन्, “निश्चित विचारधारा र प्रणालीमा प्रतिबद्धता जनाउनु हरेक व्यक्तिको अधिकारको कुरा हो, तर सञ्चार क्षेत्र नै ‘कलर्ड’ हुँदा जनमानसमा कस्तो प्रभाव पर्ला ?” सरकार एक्लैले मात्रै सबै काम गर्न नसक्ने बताउँदै मन्त्री पुनले यसमा सरोकारवाला, सञ्चार क्षेत्र, राजनीतिक दल र नागरिक स्तरबाट समेत सकरात्मक सहकार्य र समन्वय हुनुपर्ने आवश्यकता औंल्याएकी थिइन् ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले स्थानीय सञ्चार माध्यमलाई टिकाउन स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने विचार व्यक्त गरेका थिए । स्थानीय सरकारले प्रकाशन गर्नुपर्ने टेन्डर लगायतका सूचनाहरु स्थानीय सञ्चारमाध्यमलाई उपलब्ध गराउनुपर्ने बताउँदै ज्ञवालीले यसले सरकारी खर्च कम हुने र सञ्चार क्षेत्रलाई पनि राहत हुने अनुभव सुनाएका थिए ।
कार्यक्रमा महासंघका गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल र महासंघका प्रदेश महासचिव गणेश पौडेलले म्याग्दीमा सञ्चार क्षेत्रको संस्थागत विकास र पत्रकारिताको प्रवद्र्धनका लागि स्थानीय र प्रदेश सरकारहरुले चासो दिनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा नेकपा म्याग्दीका जिल्ला सचिव हरिकृष्ण श्रेष्ठ, कार्यालय सदस्य बालकृष्ण सुवेदी, नेपाली काँग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी र राप्रपा म्याग्दीका अध्यक्ष वीरबहादुर थापाले महासंघ म्याग्दीको भवनका लागि जग्गा प्राप्ति भैसकेको अवस्थामा भवन निर्माणका लागि पनि थप सहकार्य हुने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुन र प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले अन्य क्षेत्रको तुलनामा म्याग्दीमा प्रशंसनीय ढङ्गको पत्रकारिता भैरहेको बताउँदै सञ्चार क्षेत्रलाई थप बलियो, मर्यादित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का, गण्डकी प्रदेश सदस्य सन्तोष गौतम, म्याग्दीकाली एफएम रेडियो व्यवस्थापन उपसमितिका संयोजक सुविन श्रेष्ठ, प्रेस संगठन म्याग्दीका संयोजक कमल खत्री, प्रेस युनियन म्याग्दीका अध्यक्ष राकेश शर्का लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, म्याग्दीको संस्थागत विकासका लागि सहयोग गर्ने विभिन्न सहयोगदाताहरुलाई सम्मान गरिएको छ । महासंघको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने बेनी नगरपालिका र आर्थिक सहयोगदाता बमबहादुर पुन, जिल्ला सहकारी संघ म्याग्दी र प्रचलनजङ्ग कार्कीलाई खादा ओढाएर सम्मान पत्र प्रदान गरिएको हो ।
यसैबीच सातौं साधारण सभाको बन्द सत्रले संस्थाका सचिव गोरखनाथ सुवेदी र कोषाध्यक्ष हरिकृष्ण गौतमले प्रस्तुत गरेको क्रमशः प्रगति तथा आर्थिक प्रतिवेदन पनि आवश्यक संशोधनसहित पारित गरेको अध्यक्ष तारानाथ शर्माले जानकारी दिए ।
महासंघका जिल्ला अध्यक्ष तारानाथ शर्माको अध्यक्षता र सचिव गोरखनाथ सुवेदीको सञ्चालन रहेको कार्यक्रममा उपाध्यक्ष ठाकुरप्रसाद आचार्यले स्वागत मन्तव्य राखेका थिए ।