बेनी
पुस १८
सदरमुकाम बेनीमा समुदायस्तरबाट सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले स्थापनाको ३०औं वर्षगाँठ मनाएको छ । सदरमुकामस्थित बेनी अस्पतालमा उपचाररत विरामीलाई फलफूल वितरण एवं अस्पताल व्यवस्थापन समितिलाई ‘स्यानिटाइजर’ सहयोग गरी स्थापना दिवस मनाइएको हो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल र अस्पतालका मेडिकल प्रमुख डा. जितेन्द्र कँडेललाई सहयोग हस्तान्तरण गरेका थिए ।
यसैगरी अस्पतालमा उपचार गराइरहेका २२ जना विरामीलाई स्वास्थ्यलाभको कामनासहित फलफूल वितरण गरिएको छ ।
सहयोग हस्तान्तरण एवंं फलफूल वितरण कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले कोरोना सङ्कटका कारण विद्यार्थीको अध्ययन, परीक्षालगायतका नियमित कार्यहरु प्रभावित भएको भन्दै यो समस्यालाई समाधान गर्न सञ्चालक समिति, क्याम्पस प्रशासन र प्राध्यापक सबैले मिलेर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।
क्याम्पस प्रमुख गोरखबहादुर जिसीले कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दैै यसपटक वार्षिकोत्सव लक्षित कुनै पनि औपचारिक कार्यक्रम नगरिएको जानकारी दिए ।
यसअघि क्याम्पस सञ्चालक समितिका पदाधिकारी, प्रशासन, प्राध्यापक एवं कर्मचारीहरु सहभागी टोली संस्थाको ब्यानरसहित क्याम्पस गेटबाट अस्पतालसम्म पुगेको थियो ।
कक्षा ११ देखि स्नातकोत्तर तहसम्म पढाइ हुँदै आएको म्याग्दी बहुमुखी क्याम्पसमा एक हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।
उच्च शिक्षा पढ्न जिल्ला नै छोडेर हिँड्नुपर्ने अवस्था आएपछि २०४८ साल पुस १८ गते म्याग्दी बुहुमुखी क्याम्पस स्थापना गरी पठनपाठन शुरु गरिएको थियो ।
संस्थाको शैक्षिक, भौतिक आदि क्षेत्रमा गरिएको सुधारका आधारमा विश्वविद्यालय अनुदान आयोगले म्याग्दी बहुमुखी क्याम्पसलाई गत वर्ष अन्तर्राष्ट्रिय स्तरको गुणस्तर प्रत्यायन (क्युएए) प्रमाणपत्र प्रदान गरेको थियो ।


