बेनी
पुस १८
उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५, शिखका वडा अध्यक्ष दिनेशकुमार तिलिजाको निधन भएको छ । पक्षाघात (प्यारालाइसिस) रोगबाट थलिएका तिलिजाको शुक्रबार साँझ पोखरामा निधन भएको हो ।
अन्नपूर्ण–५, शिखका कार्यवाहक अध्यक्ष राजेश तिलिजा पुनका अनुसार ६५ वर्षीय तिलिजाको पोखरा महानगरपालिका–११, फुलवारीस्थित आफ्नै निवासमा निधन भएको थियो ।
गत साउनमा पक्षाघातको समस्या देखिएपछि उनलाई उपचारका लागि हेलिकप्टरमार्फत् पोखरा लगिएको थियो । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार गराउँदै आएका तिलिजाको शरीरको देब्रे भाग चल्न छाडेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
श्रीमती, दुई छोरा र दुई छोरी रहेका तिलिजा २०७४ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेद्वार भई वडाअध्यक्षमा निर्वाचित भएका थिए ।
यसैबीच अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन र कार्यवाहक वडाअध्यक्ष पुनले तिलिजाको निधनप्रति दुख व्यक्त गरेका छन् । शिक्षासेवी तथा समाजसेवी स्वर्गीय तिलिजाको योगदान अविस्मरणयोग्य रहेको उनीहरुको भनाइ छ ।
