बेनी
पुस १७
केपी शर्मा ओली पक्षधर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य किरण गुरुङले ताजा जनादेशमा जाने सरकारको निर्णय गलत नभएको विचार व्यक्त गरेका छन् । शनिबार सदरमुकाम बेनीमा म्याग्दीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता गुरुङले यस्तो धारणा राखेका हुन् । बाहिर देख्दा दुईतिहाईको सरकार भनिए पनि आफ्नै साथीहरुले काम गर्न नदिँदा प्रतिनिधि सभा विघटनको अप्रिय निर्णय लिन प्रधानमन्त्री बाध्य भएको उनको भनाइ थियो ।
“बाहिरबाहिरै गुट भेला गर्ने अनि त्यसको निर्णय सुनाउन सचिवालय बैठक चाहिने भएपछि समस्या आएको हो,” प्रचण्ड–नेपाल पक्षको आलोचना गर्दै गण्डकी सरकारका आर्थिक मामिला मन्त्रीसमेत रहेका गुरुङले भने, “प्रधानमन्त्रीले रहर लागेर होइन, कामै गर्न नसक्ने अवस्था आएपछि ताजा जनादेशमा जाने निर्णय लिनुभएको हो ।” जननिर्वाचित सरकारको प्रमुखले काम गर्ने वातावरण नभएको अवस्थामा ताजा जनादेशमा जाने सिफारिस गर्नु लोकतान्त्रिक कदम भएको नेता गुरुङको तर्क थियो ।
“प्रचण्डजीले ३३ वर्षसम्म निरन्तर पार्टीको नेतृत्व गर्दा प्रश्न नउठ्ने, माधव नेपालले १५ वर्ष एमालेको नेतृत्व गर्न हुने तर, राष्ट्रिय महाधिवेशनमा कार्यकर्ताको विश्वास जितेर अध्यक्ष बनेका ओलीले ३ वर्ष पनि पार्टी हाँक्न नपाउने ?” नेता गुरुङले भने, “लोकतन्त्र भनेको भाषण गर्ने विषयमात्रै होइन, आचरण र अभ्यासबाट पुष्टि गर्ने कुरा हो ।” प्रचण्ड र नेपाल पक्षले बहुमतको दम्भ देखाउँदा पार्टीमा समस्या आएको गुरुङको जिकिर थियो ।
भेलालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा पूर्व महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले प्रधानमन्त्रीले चालेको कदम आवश्यकता र बाध्यात्मक रहेको विचार व्यक्त गरेकी छिन् । कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालका कारण पार्टीमा समस्या आएको बताउँदै नेता थापाले विधि, पद्धतिभन्दा बाहिर गएर काम गर्न नदिने अवस्था आएपछि प्रधानमन्त्रीले बाध्य भएर प्रतिनिधि सभा विघटनको सिफारिस गरेको थापाको भनाइ थियो ।
त्यस्तै नेकपा केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश कमिटी सचिव गोविन्द नेपालीले ओली सरकारले विकास र समृद्धिलाई केन्द्रमा राखेर काम थालेको तर, पार्टीकै कमरेडहरुको असहयोगले समस्या आएको धारणा राख्दै प्रचण्ड–माधव समूहतर्फ लागेका नेता, कार्यकर्ता पनि विस्तारै ओली समूहमा फर्किने दावी गरेका थिए ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं सांसद भूपेन्द्रबहादुर थापा, गण्डकी प्रदेश कार्यालय सदस्य नवराज शर्मा तथा सामाजिक विकास मन्त्री नरदेवी पुनले केपी शर्मा ओलीका कारण नेपालमा कम्युनिष्ट पार्टीले सुविधाजनक बहुमत हासिल गरेको भन्दै मनमोहन अधिकारी र केपी ओलीलाई ‘राजनेता’को उपाधि दिएका थिए ।
नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला नेता हरिकृष्ण श्रेष्ठको अध्यक्षता, सचिवालय सदस्य सन्तोष रावलको स्वागत तथा सचिवालय सदस्य सुरत केसीको सञ्चालनमा भेला सम्पन्न भएको थियो ।
म्याग्दीमा प्रचण्ड नेपाल पक्षधर नेकपाले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको दावी गर्दै यसअघि नै अगुवा कार्यकर्ता प्रशिक्षण तथा सदरमुकाम बेनीमा विरोध प्रदर्शन र सभासमेत गरिसकेको छ ।