Notification

×

Iklan

Iklan

फोहोर पोल्दा निस्किएको धुवाँले छोपियो बेनीबजार

Saturday, January 2, 2021 | January 02, 2021 WIB Last Updated 2021-12-30T03:24:36Z

 बेनी

पुस १७




फोहोरको थुप्रोमा लगाइएको आगो राम्ररी नबल्दा म्याग्दी सदरमुकाम बेनीबजार र आसपासको क्षेत्र विषाक्त धुवाँबाट छोपिएको छ । शनिबार मध्याह्नदेखि साँझसम्मै बेनी र आसपासको क्षेत्रमा जनजीवन नै अत्तालिने गरी धुवाँ मडारिइरहेको थियो । बेनी–गलेश्वर सडकखण्डकको रातो पैह्रोमा थुपारिएको फोहोरमा शनिबार बिहान आगो लगाउँदा यस्तो अवस्था आएको हो ।




पर्वतको जलजला–३ बगरफाँटका स्थानीय बुद्धिजीवी तथा सञ्चारकर्मी कृष्ण जिसीले कुरा उठाउँदा नराम्रो भइने तर, बेलाबेला उठ्ने धुवाँका कारण सर्वसाधारणको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्नेतर्फ सरोकारवाला निकायको ध्यान नगएको प्रतिक्रिया दिए । 





त्यस्तै बेनी नगरपालिका–६ का स्थानीय नारायण शर्माले बेनी नगरपालिकाले रातो पैह्रा क्षेत्रमा फोहोर विसर्जन गर्ने निर्णय गर्दा बेलाबेला सरसफाईलगायतका जनस्वास्थ्यसँग सम्बन्धित कार्यक्रम लागू गर्ने प्रतिबद्धता गरेको तर, त्यो व्यवहारमा कहिल्यै लागू नभएको गुनासो गरे । 


शनिबार दिनभरजसो बेनीबजार र आसपासको क्षेत्रमा धुवाँ मडारिएको देखेपछि धेरैले आकासमा तुवाँलो वा बादल लागेको अनुमान गरे । तर, त्यो बादल नभई फाहोर पोल्दा निस्किएको धुवाँ भएको थाहा भएसँगै सामाजिक सञ्जालमा नगरपालिकाको आलोचना हुन थाल्यो । त्यसपछि नगरपालिकाले आगो निभाउन दमकल त पठायो । तर, धुवाँ सदरमुकाम बेनी र आसपासको जनजीवनलाई अत्याउने गरी फैलिसकेको थियो ।




नगरपालिकाले सदरमुकाम बेनी, गलेश्वरलगायतका ठाउँमा जम्मा भएको फोहोर लगेर बेनी–गलेश्वर सडकखण्डको रातो पैह्रामा विसर्जन गर्ने गरेको छ । बजार क्षेत्रमा सङ्कलित फोहोर व्यवस्थापन गर्न भन्दै बेनी नगरपालिकाले त्यहाँ भौतिक संरचना पनि निर्माण गरेको छ । तर, फोहोर भवनमा नभई बाहिर सडक छेउमै थुपार्ने गरिएको छ । 




फोहोर व्यवस्थापनका लागि जग्गाको खोजी गरे पनि उपयुक्त जग्गा फेला नपरेको नगरपालिकाको भनाइ छ ।


कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण पछिल्लो १० महिनायता लगभग सबैले अनिवार्य रुपमा मास्क लगाउन थालेका छन् । तर, प्लास्टिकलगायतका फोहोरजन्य पदार्थबाट निस्किएको धुवाँले मानवस्वास्थ्यलाई पार्ने असरबारे नगरपालिका र जनस्वास्थ्यसँग सम्बन्धित संघसंस्था कसैको पनि ध्यान पुग्न सकेको छैन ।




धार्मिक तथा पर्यावरणीय महत्वको कालीगण्डकी नदी किनारमा फोहोर थुपार्दा नदीको पवित्रता र सौन्दर्य नै जोखिममा परेको भन्दै सर्वसाधारणले चिन्ता व्यक्त गरेका छन् ।


×
Berita Terbaru Update