बेनी
माघ ८
म्याग्दी सदरमुकाम बेनीस्थित प्रकाश माध्यमिक विद्यालयमा व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको पुनर्गठन भएको छ । बिहीबार विद्यालयमा सम्पन्न अभिभावक भेलाले नवीनकुमार श्रेष्ठको अध्यक्षमा व्यवस्थापन समितिको पुनर्गठन गरेको हो ।
समितिको सदस्यहरुमा हरिकृष्ण श्रेष्ठ, साधनाकुमारी श्रेष्ठ, भगवती शर्मा, जनमायाँ छन्त्याल र देवेन्द्र भट्टराई छनोट भएको विद्यालयका सहायक प्रधानाध्यापक लेखबहादुर हमालले जानकारी दिएका छन् । यसैगरी विद्यालयको पदेन सदस्यमा बेनी नगरपालिका–७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ तथा सदस्य सचिवमा प्रअ हरिकृष्ण सुवेदी छनोट भएका छन् । समितिमा प्रतिनिधित्व गर्ने शिक्षक प्रतिनिधिको छनोट विद्यालयको स्टाफ बैठकबाट पछि तोकिने बताइएको छ ।
बिहीबारको अभिभावकहरुको भेलाले दिनेश शर्माको अध्यक्षतामा शिक्षक अभिभावक संघ, प्रकाश माविको समेत गठन गरेको छ । संघको सदस्यहरुमा कृष्णबहादुर हमाल, लक्ष्मी जोशी, लक्ष्मी भण्डारी, मनमायाँ गर्बुजा, पिनकुमारी रसाईली र शान्ति छन्त्याल रहेका छन् ।
भेलाको उद्घाटन गर्दै विद्यालयका भूतपूर्व व्यवस्थापन समितिका अध्यक्ष एवं आजीवन सल्लाहकार अङ्गदकुमार श्रेष्ठले स्थानीय स्तरमा शिक्षाको ज्योति फैलाउन प्रकाश माध्यमिक विद्यालयको महत्वपूर्ण योगदान रहेको चर्चा गरेका थिए ।
भेलालाई सम्बोधन गर्दै बेनपा–७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले विद्यालयले माग गरेको विषयमा वडा कार्यालय र नगरपालिकाबाट सहयोग भैरहेको जानकारी गराएका थिए ।
सोही भेलालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ, म्याग्दीका अध्यक्ष तारानाथ शर्माले प्रतिस्पर्धाबाट खारिएर आएका र तालिमप्राप्त शिक्षक हुँदाहुँदै पनि सरकारी विद्यालयको नतिजा खस्किनुमा व्यवस्थापनको समस्या नै मुख्य कारण रहेको विचार व्यक्त गरेका थिए । कोरोना भाइरसको महामारीका बीचमा पनि अनलाइन र वैकल्पिक माध्यमबाट अध्यापन गरेपछि प्रकाश माविको चर्चा हुन थालेको सन्दर्भ उल्लेख गर्दै शर्माले भने, “यदि प्रकाश माविको पुरानो गौरव र गरिमालाई जगाउने हो भने व्यवस्थापनमा ध्यान दिन आवश्यक छ ।”
ज्ञानको निर्माण र वितरण गर्ने मूल जिम्मेवारी शिक्षकवर्गमा रहेको बताउँदै अध्यक्ष शर्माले यसका लागि प्रविधिमैत्री शिक्षणमा जोड दिनुपर्ने आवश्यकता औंल्याएका थिए।
कार्यक्रममा मन्तव्य राख्दै शिक्षक अभिभावक संघका अध्यक्ष सुवर्ण रिजालले योग्य शिक्षकहरुबाट गुणस्तरीय ढङ्गबाट पढाइ हुँदाहुँदै पनि प्रकाश माविप्रति सकारात्मक धारणा बन्न नसकेकोमा आफू आश्चर्यमा परेको विचार व्यक्त गरेका थिए । “शिक्षक अभिभावक संघको अध्यक्षका रुपमा मैले प्रकाश माविको पठनपाठन तुलनात्मक रुपमा निकै राम्रो पाएँ,” रिजालले भने, “तर, यो विद्यालयको बारेमा बाहिरबाहिर किन नकारात्मक कुरा हुन्छ भन्ने मैले बुझ्न सकिन ।” विद्यालयले गरेका राम्रा कामका बारेमा प्रचारप्रसार गर्नुपर्ने रिजालको भनाइ थियो ।
भेलामा बोल्दै बेनी नगरपालिकाका स्रोतव्यक्ति मोहन बानियाँले कोरोना भाइरसको महामारीपछि सरकारले स्वास्थ्य सामग्री खरिदका लागि आधारभूत तहमा प्रतिविद्यार्थी १५० र मावि तहमा २०० रुपैयाँको दरले बजेट उपलब्ध गराएको, १–५ कक्षाका विद्यार्थीका लागि प्रतिदिन १५ रुपैयाँका दरले दिवाखाजाको व्यवस्था गरेको र शैक्षिक सामग्री खरिदका लागि आधारभूत र मावि तहमा क्रमशः १ सय २५ र २ सय ५० रुपैयाँका दरले बजेट उपलब्ध गराएको जानकारी गराएका थिए ।
भेलामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रअ हरिकृष्ण सुवेदीले वि.सं. १९८५÷८६ देखि गुरुकूल परम्पराबाट शुरु भएको प्रकाश माविले समयक्रममा आधुनिक शिक्षा प्रदान गर्दै आएको जानकारी गराएका थिए । हाल १ हजार १ सय ११ जना विद्यार्थी अध्ययनरत रहेको बताउँदे प्रअ सुवेदीले कोभिड–१९ का कारण अझै भर्नाको क्रम जारी रहेको जनाएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीनकुमार श्रेष्ठको अध्यक्षता, कक्षा ११, १२ का संयोजक कविराम थापाको स्वागत तथा सहायक प्रअ लेखबहादुर हमालको सञ्चालनमा सम्पन्न भएको उद्घाटन समारोहमा विद्यालयका सल्लाहकार प्रकाशकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।



