बेनी
माघ ८
प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद किनबेचको खेल शुरु हुने अवस्था आएपछि प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएका छन् । प्रेस सङ्गठन, नेपालको बिहीबार काठमाडौंमा आयोजित दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त दावी सुनाएका हुन् ।
सङ्गठनको दोस्रो राष्ट्रिय भेलाको उद्घाटन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष ओलीले अवरोध चिरेर विकास र समृद्धिका यात्रामा अघि बढ्न सरकार र पार्टी दृढताका साथ लागेको विचार व्यक्त गरेका थिए ।
“देशमाथि अनेकखाले हमला भइरहेका छन् । यसमा हामी सबै सजग हुनुपर्छ । देश बनाउने हो भने हामीले सहमति कायम राख्न आवश्यक छ”, प्रधानमन्त्रीले भने, “हामी कुनै आक्रोश, उत्तेजना र पूर्वाग्रह राख्दैनौं । हामी काला झण्डा बोकेर हिँड्नेवाला होइनौँ । उज्यालो र चम्किलो भविष्यतर्फको गन्तव्यतर्फ अघि बढ्न स्पष्ट छौँ ।”
एक फरक प्रसङ्गमा बोल्नेक्रममा प्रधानमन्त्री ओलीले पीत पत्रकारिता आफैँ हराएर जाने जनाउँदै देश, नागरिक, लोकतन्त्र, स्थिरता र सत्यका पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गरेका थिए ।
‘समृद्ध नेपाल निर्माणका लागि पूर्ण प्रेस स्वतन्त्रतासहितको सबल श्रमजीवी पत्रकार ः स्थिरता, विकास र राष्ट्रिय स्वाधीनताको रक्षा ः प्रेस सङ्गठन नेपालको आधार’ भन्ने नाराका साथ आयोजित भेलामा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत नेता, मन्त्री र पत्रकारिता क्षेत्रका अग्रजको सहभागिता रहेको थियो ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभाको विघटन सदर गरेसँगै सत्तारुढ नेकपा विभाजित बनेको छ । मूल पार्टीभित्रको विवाद क्रमशः जनवर्गीय सङ्गठनहरुमा फैलिनेक्रममा पत्रकारहरुको सङ्गठनमा पनि यसको असर पर्न थालेको छ ।
यसअघि प्रचण्ड र माधव नेपाल पक्षधर पत्रकारहरुको पनि माघ ६ गते राष्ट्रिय भेला सम्पन्न भैसकेको छ ।