बेनी
पुस २१
राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाहीले पछिल्लो समय खेलकूद क्षेत्रमा अवसर रहेको धारणा व्यक्त गरेकी छिन् । प्रकाश मावि, बेनीमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीसामु बोल्दै अरुणाले यस्तो विचार व्यक्त गरेकी हुन् । नेपाल खेलकूद पत्रकार मञ्चको ‘पिपल्स च्वाइस अवार्ड’को मनोनयनमा परेकी अरुणा मतदानको अनुरोध गर्न यतिबेला गृहजिल्ला म्याग्दीमा छिन् ।
राष्ट्रिय महिला भलिबल टोलीका क्याप्टेन जिल्ला आएको अवसर पारी प्रकाश माविले मङ्गलबार बिहान उनको सम्मानमा कार्यक्रम आयोजना गरेको थियो । सम्मान ग्रहणपछि बोल्दै क्याप्टेन शाहीले भनिन्, “पछिल्लो समय नेपालको खेलकूद क्षेत्र पनि व्यावसायिक बन्दै गएको छ । आत्मविश्वास र लगनशील भएर लाग्ने हो भने सफलता पाइने रहेछ, यो मेरो अनुभव हो ।” आफ्नो खेल जीवनमा जिल्ला र देशबासीबाट पाएको साथ, सहयोग र समर्थनले उत्साहित बनाएको बताउँदै शाहीले सबैको भोटिङबाट यसपटक पनि विजेता बन्ने अपेक्षा सुनाएकी थिइन् ।
‘पिपल्स च्वाइस अवार्ड’मा अरुणा शाही मनोनयन परेको घटनाले खेलकूदका माध्यमबाट म्याग्दीलाई चिनाउने काम भएको भन्दै जिल्ला भलिबल संघ, म्याग्दीको अगुवाइमा ‘अरुणा जिताऔं’ अभियान शुरु गरिएको थियो । सोही अभियानअन्तर्गत भोट माग्नेक्रममा अरुणा म्याग्दी आएकी हन् ।
भलिबल संघ म्याग्दीका अध्यक्ष रमेशकुमार श्रेष्ठले शाहीलाई पुरस्कार जिताउन संघले गत पुस १६ गतेदेखि नै बेनीमा भोट सङ्कलन अभियान सञ्चालन गरिरहेको जानकारी दिए । अरुणा जिताऔं अभियानअन्तर्गत संघले आइतबार बेनीमा पत्रकार सम्मेलन गरेको थियो भने सोमबार सदरमुकाम बेनीका विभिन्न विद्यालयमा पुगी मत माग्ने काम भैरहेको छ ।
जिल्लाको रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा जन्मिएर राष्ट्रिय महिला भलिबल टिमको अगुवाई गरिरहेकी शाहीलाई पुरस्कार दिलाउन भोट सङ्कलन अभियानलाई तिब्र पारिएको जिल्ला भलिबल संघ, म्याग्दीका उपाध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिए । राष्ट्रिय टोलीको खेलाडी तथा क्याप्टेनका रुपमा अरुणाले शाहीले नेपालको महिला भलिबलको इतिहासलाई गर्विलो बनाएको भन्दै उपाध्यक्ष बानियाँले अरुणालाई जिताउन सबैले सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।
“भोटिङका लागि ई–सेवाको एप डाउनलोड गरी खेलाडीको प्रोफाइलमा गएर भोट गर्न सकिन्छ,” म्याग्दीका लोकप्रिय खेलाडी तथा भलिबल प्रशिक्षकसमेत रहेका बानियाँले भने, “पुस २७ गते राति १२ः०० बजेसम्म भोटिङ गर्न पाइन्छ । यसमा सबैले सहयोग गरौं ।”
विद्यालयका प्रधानाध्यापक हरिकृष्ण सुवेदीले अविर र खादाले सम्मान गरेको कार्यक्रमको सञ्चालन शिक्षक विनय श्रेष्ठले गरेका थिए ।