Notification

×

Iklan

Iklan

‘नेकपा टुक्रिएको नभई चोइटिएको’ महेश बस्नेतको दावी

Tuesday, January 5, 2021 | January 05, 2021 WIB Last Updated 2021-12-30T03:24:34Z

 बेनी 

पुस २१


नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं यूवा नेता महेश बस्नेतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) टुक्रिएको नभई एउटा समूह चोइटिएर गएको बताएका छन् । ओली पक्षधर राष्ट्रिय युवा संघ, म्याग्दीले मङ्गलबार बेनीमा आयोजना गरेको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले सो धारणा राखेका हुन् ।




सोक्रममा नेता बस्नेतले विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहलाई काँक्राको तीतो भागसँग तुलना गरे । “काँक्राको तीतो भाग काटेर फालेजस्तै,” बस्नेतले भने, “अहिले नेकपाको विभाजन भएको होइन, तीतो भाग चोइटिएको हो । अब हाम्रो पक्षमा मीठो भागमात्रै बाँकी छ ।” 


प्रतिपक्षी दलका रुपमा नेपाली काँग्रेसले बरु लोकतान्त्रिक आचरण देखाएको तर, नेकपाभित्रकै एउटा खेमाले प्रधानमन्त्रीलाई काम गर्न नदिने, घेराबन्दीमा पार्न खोज्ने र कानुनी बाटोभन्दा बाहिरबाट अविश्वास प्रस्ताव दर्ता गराउँदा अहिलेको अवस्था आएको बस्नेतको जिकिर थियो । “संसदीय दलले चुनेको प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने भए संसदीय दलमै चुनौती दिन सकिन्थ्यो,” नेता बस्नेतले भने, “तर, अवैध ढङ्गले प्रधानमन्त्रीलाई हटाउने खेल भएपछि प्रतिनिधि सभा विघटनको अप्रिय निर्णय गर्न प्रधानमन्त्री बाध्य हुनुभएको हो।”


 


अहिले नेकपामा अस्तित्वमा रहेका कमिटी र तिनमा कार्यरत सदस्यहरुलाई प्रथम अध्यक्षका रुपमा ओलीले नै सिफारिस गरेकोले ओली नेतृत्वको नेकपा नै आधिकारिक पार्टी भएको बस्नेतको भनाइ थियो । 


ओली नेतृत्वको नेकपाले सूर्य चिह्न पाउनेमा कुनै विवाद नभएको तर्क गर्दै नेता बस्नेले प्रचण्डले छातीमा सूर्य चिह्न टाँस्नु नक्कली काम भएको तर्क गरेका थिए। प्रचण्ड र उनकी छोरी रेणु दाहाललाई जिताउन क्रमशः सिरहा र चितवनमा सूर्य चिह्नमा छाप लागेका मतपत्र च्यातिएको बताउँदै यूवा नेता बस्नेतले भने, “अहिले आएर सूर्य चिह्न छातीमा टाँँस्नु नक्कली काम हो । सूर्य चिह्न ओली नेतृत्वको नेकपाले नै पाउँछ, यसमा शङ्का छैन ।”


‘समृद्ध नेपाल सुखी नेपाली’ को परिकल्पनाकार केपी ओली भएको बताउँदै नेता बस्नेतले अहिलेको सरकारले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई सशक्त बनाएको दावी गरेका थिए । चीन वा भारतलाई गाली गरेर राजनीति गर्न सम्भव नभएको भन्दै नेता बस्नेले अबको राजनीति जनताको लागि हुनुपर्ने आवश्यकता औंल्याएका थिए ।




सोही भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापाले केपी ओली नेतृत्वको सरकारले देशमा थुप्रै विकास निर्माणका कामहरु गरेको बताएका थिए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य नवराज शर्मा, माधव बाँस्तोला, हरिकृष्ण श्रेष्ठ र सन्तोष रावलले ओली सरकारले उत्तर–दक्षिण जोड्ने अन्तर्राष्ट्रिय नाका खोल्नुका साथै विभिन्न जनमुखी विकासका कामहरु गरेको चर्चा गरेका थिए । 




कार्यक्रममा यूवा संघका केन्द्रीय सदस्य दिनेश केसी, भोजबहादुर थापा, नेकपा रघुगङ्गा गाउँकमिटी अध्यक्ष दिपक बिखर्ची, धवलागिरि गाउँपालिका उपाध्यक्ष रेशम छन्त्याल, अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेललगायतले मन्तव्य राखेका थिए । 


कार्यक्रम युवा संघका जिल्ला अध्यक्ष प्रवीण शाहीको अध्यक्षता, नगर संयोजक लक्ष्मण कटुवालको स्वागत र युवा नेताद्वय शिशिर शाहीको सञ्चालन तथा बाबुराम चोखालको धन्यवादमा सम्पन्न भएको थियो । 


औपचारिक कार्यक्रम शुरु हुनुपहिले यूवाहरुले सदरमुकाम बेनीमा बाइकसहितको ¥याली निकालेका थिए ।



×
Berita Terbaru Update