बेनी
पुस २२
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का यूवा नेता तथा पूर्वमन्त्री महेश बस्नेतले सूर्य चिह्न आफुहरुले पाउने दावी गरेका छन् । म्याग्दी सदरमुकाम बेनीमा, बुधबार बिहान पत्रकारसँग बोल्दै नेता बस्नेतले उक्त दावी सुनाएका हुन् ।
“सूर्य चिह्न हाम्रो हो,” नेता बस्नेतले भने, “हामीले नपाउने अवस्थामा निर्वाचन आयोगले यो चिह्न कसैलाई पनि नदिन सक्छ ।” माधव नेपाल र झलनाथ खनालले सूर्य चिह्न माग्नुलाई बिहे गरेकी छोरीले माइतीको थरगोत्रमा दावी गरेको घटनासँग तुलना गर्दै नेता बस्नेतले भने, “पोइल गएपछि पुरानोमाथि दावी गर्ने होइन, श्रीमान्को थरगोत्र स्वीकार गर्नुपर्छ ।”
नेकपाको पार्टी एकता, आन्तरिक किचलो र अबको बाटोबारे खुलस्तरुपमा प्रस्तुत भएका नेता बस्नेतले दुई पार्टीबीचको एकतालाई सैद्धान्तिक र व्यावहारिक किसिमले पुष्टि गर्ने कोशिस गरे । “हत्याहिंसाको बाटोबाट अघि बढेको माओवादीलाई लोकतान्त्रिक धारमा ल्याउन सकिन्छ कि भनेर एमालेले पहल गरेको हो,” बस्नेतले भने, “व्यावहारिक दृष्टिकोणले पनि माओवादीको जनाधार खस्किँदै गएको बेला दुई कम्युनिष्ट पार्टीको एकतामार्फत् स्थिरता र विकास दिने उद्देश्यले केपी ओलीले पहल गर्नुभएकै हो ।”
दुई पार्टीको एकता गर्दा अल्पमत र बहुमतको हिसाब नगरिएको तर, चुनावबाट दुईतिहाई नजिकको मत आएपछि फरक परिदृश्य आएको बस्नेतको भनाइ थियो ।
“माओवादीले हैसियतभन्दा धेरै भाग खोज्दा यस्तो भएको हो,” बस्नेतले अगाडि भने, “एमालेका नेतालाई एकआपसमा जुधाएर त्यसबाट आफुले फाइदा लिने खेलमा प्रचण्ड लाग्दा अहिलेको अवस्था आएको हो ।”
संसद पुनस्र्थापना के हुन्छ ? भन्ने पत्रकारको जिज्ञासाको जवाफ दिँदै नेता बस्नेतले भने, “नेपालमा संसद पुनस्र्थापनाका दुबैथरी नजिर छन् । तर, अहिलेको विशिष्ट परिस्थितिमा सम्मानित न्यायालयले पनि प्रधानमन्त्रीको कदमलाई सदर गर्न सक्छ ।”
![]() |
| फाइल तस्वीर |
प्रधानमन्त्रीका रुपमा ओलीले सबै राजनीतिक दललाई मिलाएर लैजान खोजे पनि प्रचण्ड र माधव नेपालका कारण त्यो सम्भव नभएको भन्दै बस्नेतले सञ्चारमाध्यममा आएजस्तो प्रचण्ड नेपाल पक्षसँग बहुमत नभएको दावी गरे ।
तोकिएको मितिमै चुनाव गराउन सरकार प्रतिबद्ध रहेको बताउँदै बस्नेतले भने, “सङ्क्रमणकाल लम्बिँदा कसैलाई हित हुँदैन । जतिसक्दो छिटो चुनावमा जानु नै बुद्धिमानी हुनेछ ।”
राष्ट्रिय यूवा संघ, म्याग्दीका अध्यक्ष प्रवीण शाहीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनको सञ्चालन यूवा नेता शिशिर शाहीले गरेका थिए ।

