Notification

×

Iklan

Iklan

अजिङ्गर भीरमा अन्तिम विष्फोटको तयारी

Tuesday, January 5, 2021 | January 05, 2021 WIB Last Updated 2021-12-30T03:24:33Z

 बेनी

पुस  २२



म्याग्दीको रघुगङ्गा गाउँपालिकाले गौरवको योजनाको रुपमा समावेश गरेको एउटा योजना पूरा हुन आँटेको छ । चिमखोला र कुइनेमङ्गलेलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बहुप्रतीक्षित ‘गलेश्वर–मौवाफाँट–दग्नाम–दर्मिजा–चिमखोला–घ्याँसीखर्क’ सडकको ट्र्याक खोल्ने काम पूरा हुन लागेको हो । वि.सं. २०५६ सालदेखि निर्माण शुरु भएको सडक खण्डको ट्र्याक खोल्न मात्रै २२ वर्ष लागेको हो ।





दग्नाम र चिमखोलाको भूगोललाई छुट्ट्याएको अजिङ्गर भीरको कडा चट्टानका कारण पूरा हुन नसकेको रघुगङ्गाबासीको सडक सपना संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानी, निर्माणाधीन जलविद्युत् आयोजनाको थप सहयोग र स्थानीय यूवाहरुको निरन्तरको मेहनतका कारण २२ वर्षपछि ट्र्याक खुल्ने चरणमा पुगेको छ ।



रघुगङ्गा–४, दर्मिजाका स्थानीय यूवा तथा सिभिल इन्जिनियर सुविन शेरपुञ्जाले दग्नाम–चिमखोलाको बीचमा रहेको अजिङ्गर भीरमा निर्माणाधीन मोटर बाटोमा अन्तिम विष्फोटको तयारी भैरहेको जानकारी दिए । “भीरको कडा चट्टान फुटाल्ने तयारी भैरहेको छ”, शेरपुञ्जाले भने, “अजिङ्गर भीरमा हुँदै आएको सम्भवतः यो अन्तिम विष्फोट हुनेछ ।” 




सडक निर्माणको पर्खाइमा रहेका स्थानीय जनताका लागि छिटै नै खुशीको खबर सञ्चार हुन लागेको बताउँदै इन्जिनियर शेरपुञ्जाले भने, “सबै पक्षको सहयोगले कडा चट्टान फोडेर ट्र्याक खोल्न सम्भव भयो ।”



राष्ट्रिय सभाका तत्कालीन सदस्य थममायाँ थापाको पहलमा आर्थिक वर्ष २०५६÷५७ देखि निर्माण शुरु भएको यो सडक रातो किताबमा समेत परेको थियो । ‘गलेश्वर–मौवाफाँट–दग्नाम–दर्मिजा–चिमखोला–घ्याँसीखर्क’ सडक सडक निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष एवं नेकपा म्याग्दीका यूवा नेता बालकृष्ण सुवेदीले अपुग बजेट र अन्य अप्ठ्यारोले तोकिएको समयमा पूरा हुन नसके पनि अजिङ्गर भीरमा ट्र्याक खुल्नु सुखद रहेको प्रतिक्रिया दिए । 





रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले गाउँपालिकाको गौरवको योजनामा संघ र प्रदेश सरकारले हातेमालो गर्दा सडक निर्माण गर्न सहज भएको बताए । 


गाउँपालिका केन्द्र मौवाफाँटदेखि दग्नाम हुँदै अजिङ्गर भीरसम्म पाँच किलोमिटर र चिमखोलादेखि दर्मिजासम्म चार किलोमिटर गरी दुबैतिरबाट सडकको ट्र्याक खुलिसकेको छ । अजिङ्गर भीरको कडा चट्टान फुटाउन नसक्दा चिमखोला र त्यसभन्दा माथिका नागरिकको खाँचो टार्न अहिले गलेश्वर–भगवती–बेग हुँदै चिमखोला जोड्ने वैकल्पिक सडक उपयोग हुँदै आएको छ ।



×
Berita Terbaru Update