बेनी
माघ १३
सरकारले प्रतिनिधि सभा विघटन गरी मध्यावधि चुनाव घोषणा गरेपछि निर्वाचन कार्यालयको व्यस्तता बढ्न थालेको छ । प्रतिनिधि सभा विघटन हुँदाको मिति (२०७७ पुस ५) लाई आधार मानेर सो मितिसम्म १८ वर्ष पूरा भएका नेपाली नागरिकहरुको मतदाता नामावाली सङ्कलन, अद्यावधिक लगायतका निर्वाचन लक्षित कार्यक्रम शुरु हुन लागेका हुन् । यसक्रममा म्याग्दीमा पनि आगामी निर्वाचन–लक्षित गर्दै मतदाता नामावली अद्यावधिक कार्यक्रम शुरु हुन लागेको छ ।
म्याग्दीका जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले निर्वाचन कार्यालयले जिल्लाका सबै स्थानीय तहमा मतदाताको नामावली अद्यावधिक र दावी विरोधका लागि कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएका छन् । “सरकारले मध्यावधि चुनाव घोषणा गरेको अवस्थामा हामीले पुस ६ गतेदेखि नै मतदाता नामावली सङ्कलनको काम स्थगित गरेका छौं,” घिमिरेले भने, “२०७७ पुस ५ गतेसम्म सङ्कलित मतदाता नामावलीलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली कायम हुन्छ ।”
म्याग्दीका ६ ओटै स्थानीय तहमा मतदाताहरुको नामावली प्रकाशन गरिने र मतदाता नामावलीमा नाम, विवरण र दोहोरोपनमा देखिएका त्रुटिहरु सच्चाउने गरी अभियान सञ्चालन भएको घिमिरेको भनाइ छ । प्रमुख नाम दर्ता अधिकारीसमेत रहेका घिमिरेका अनुसार, हरेक स्थानीय तहमा एक÷एक जना सहायक नाम दर्ता अधिकारी रहने व्यवस्था अनुरुप जिल्लाका ६ वटै स्थानीय तहमा सहायक नाम दर्ता अधिकारीहरुलाई तालिम दिएर खटाइसकिएको छ ।
स्थानीय तहमा कार्यरत सहायक नाम दर्ता अधिकारीको कार्यालयमा मतदाताहरुको अद्यावधिक नामावली टाँसिने र उक्त नामावलीमा कुनै त्रुटि भेटिए यही माघ १५ देखि १८ गतेसम्म सच्याउन सकिने पनि जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।
मतदाता नामावली अद्यावधिक कार्यलाई प्रचारप्रसार गर्ने उद्देश्यले कार्यालयले सोमबार बेनीमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न गरेको छ । जिल्लामा क्रियाशील राजनैतिक दल, स्थानीय तहका जनप्रतिनिधि, नागरिक संघसंस्थाका अगुवाहरुसँग कार्यालयले अन्तरक्रिया गर्दै अभियानको बारेमा जानकारी गराइएको थियो ।
अन्तरक्रियामा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले मतदाता नामावलीलाई त्रुटिरहित बनाउँदै निर्वाचनमा मतदाताको अधिकारको सुनिश्चित गर्नका लागि मतदाता अद्यावधिक आवश्यक रहेकोमा जोड दिए । त्यस्तै प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले मतदाता नामावलीको शुद्धताले निर्वाचन प्रणाली विश्वसनीय हुने धारणा राखेका थिए ।
मन्त्रिपरिषदको सिफारिसमा प्रतिनिधि सभा विघटन सदर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको तिथि तोकिसकेकी छिन् ।