बेनी
पुस २०
म्याग्दी सदरमुकाम बेनीस्थित बाल मन्दिर आधारभूत विद्यालयमा नवनिर्मित भवनको उद्घाटन गरिएको छ । आइतबार विद्यालयमा आयोजित एक कार्यक्रमबीच नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण बराईली र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रबहादुर महतले संयुक्तरुपमा उद्घाटन गरेका हुन्।
कार्यक्रममा बोल्दै मेयर श्रेष्ठले भौतिक पूर्वाधार निर्माणले विद्यालयको पठनपाठन तथा अध्यापनमा थप सहज हुनुका साथै शैक्षिक क्रियाकलापमा समेत सहज हुने विचार व्यक्त गरे । सामुदायिक विद्यालय सञ्चालन गर्न भौतिक पूर्वाधार र दरबन्दी अभाव मुख्य चुनौती भएको नगरप्रमुख श्रेष्ठले विभिन्न चुनौतीका बाबजूद बालमन्दिर विद्यालय नगरपालिकाभित्रका उत्कृष्ट विद्यालयको सूचीमा पर्नु सकारात्मक रहेको धारणा राखे ।
उक्त अवसरमा बेनी नगरपालिका–८का वडा सदस्य हिराबहादुर पुन, परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य, विद्यालयका चन्दादाता सुरेन्द्रराज शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महत र बेनी नगरपालिकाका शिक्षा अधिकृत अर्जुन पौडेलले मन्तव्य राखेका थिए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई, बेनी नगरपालिका र विद्यालयको आन्तरिक स्रोतबाट चार ओटा सटरसहितको बहूद्देश्यीय भवन निर्माण गरिएको विद्यालयले जानकारी दिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महतको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार मनबहादुर चर्मकारको स्वागत तथा विद्यालयका प्रधानाध्यापक सुरेन्द्र केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

