बेनी
माघ १
आज मकर सङ्क्रान्ति अर्थात् माघी पर्व विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । सूर्यको गतिका आधारमा तय हुने सौरमानअनुसार प्रत्येक वर्ष माघ महिनाको पहिलो दिन माघे (मकर) सङ्क्रान्ति पर्व मनाउने गरिन्छ । पर्वका अवसरमा पवित्र नदी, जलाशय र देवालयहरुमा पुगेर स्नान, दान, ध्यान साधना, दान आदि गरी मनाउने नेपाली सनातन प्रचलन रहिआएको छ ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन (सङ्क्रान्ति) भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिएको हो । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ ।
आजको दिन कालीगण्डकी, त्रिशुली, वाग्मती, कोशीलगायतका नदीमा पुगी मकरस्नान गर्न श्रद्धालुको भीड लाग्ने गर्दछ ।
तराईका आदिवासी चौधरीहरुका लागि आजको दिन विशेष महत्वको हुने गर्दछ । माघी पर्वका रुपमा थारु समुदायले माघे संक्रान्तिलाई महत्वपूर्ण पर्वको रुपमा मनाउँदै आएका छन् ।
माघे संक्रान्तिको अवसरमा घिउ, चाकु, तिलको लड्डु, खिचडी, तरुललगायतका परिकार बनाएर खाने चलन छ ।