बेनी
पुस २३
स्थानीय स्तरमा शक्तिपीठका रुपमा स्थापित भगवती कोट मन्दिरको पुननिर्माण हुने भएको छ । भगवती कोटमन्दिरको पुननिर्माणका लागि पुरातत्व विभागले बजेट विनियोजन गरेको जिल्ला समन्वय समिति, म्याग्दीका प्रमुख देवेन्द्रबहादुर कटुवालले जानकारी दिए ।
“संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमातहतको पुरातत्व विभागबाट मन्दिरको पुनर्निर्माणका लागि बजेट विनियोजन भई ठेक्का सम्झौता भैसकेको सूचना विभागबाट आएको छ,” भगवतीका स्थानीय अगुवासमेत रहेका जिसस प्रमुख कटुवालले भने, “२०७२ को भुइँचालोले जीर्ण बनेको मन्दिरको पुनर्निर्माणका लागि ८५ लाख १८ हजार ४९१ रुपैयाँ बजेट विनियोजन भएको हो ।”
कोट मन्दिर पूजा सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले पुनर्निर्माणपछि पनि मन्दिर पुरानै स्वरुपमा रहने गरी समितिमार्फत प्रस्ताव तयार गरी विभागमा पेश गरिएकोमा सोही बमोजिम योजना छनौट भएको जानकारी दिए । “अब मन्दिरको पुनर्निर्माणको आशा बढेको छ,” स्थानीय समाजसेवी तथा अगुवा मल्लले भने, “मन्दिरको पुरानै स्वरुपलाई जोगाउने र भूकम्पपतिरोधी हुने गरी प्राविधिकहरुलाई डिजाइन इस्टमेट तयार गर्न लगाइएको छ ।”
रघुगङ्गा गाउँपालिका–२ भगवतीमा अवस्थित ऐतिहासिक–धार्मिक महत्वको राखुकोटबाट पवित्र कालिगण्डकी नदी, पुलहाश्रम, बागलुङको पञ्चकोटलगायत अन्नपूर्ण र निलगिरी हिमाल स्पष्टसँग देख्न सकिन्छ । बाह्रैमहिना विधानअनुसार नित्यपूजा हुँदै आएको राखुकोटमा बडादशैंको अवसरमा विशेष मेला लाग्ने गर्दछ ।
जिल्ला सदरमुकाम बेनीदेखि ४ कोस उत्तरमा अवस्थित राखुकोट कालीगण्डकी र रघुगङ्गा नदीको दोभानको शिरमा पर्दछ । ऐतिहासिक भुरेटाकुरे राज्यको शक्तिपीठका रुपमा स्थापित भगवती मन्दिरलाई धार्मिक–सांस्कृतिक एवं पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने प्रयास हुँदै आएको छ ।