Notification

×

Iklan

Iklan

ताकममा अस्पताल भवन शिलान्यास

Friday, January 8, 2021 | January 08, 2021 WIB Last Updated 2021-12-30T03:24:32Z

 बेनी

पुस २३



धवलागिरी गाउँपालिका–७ ताकममा निर्माण गरिने अस्पताल र वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । बिहीबार ताकममा आयोजित एक समारोहबीच निवर्तमान संघीय सांसद भूपेन्द्रबहादुर थापाले पाँच शैया क्षमताको अस्पताल भवन तथा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले वडा कार्यालय भवनको शिलान्यास गरेका हुन् ।





जम्मा सात करोड १३ लाख रुपैयाँ लागत लाग्ने सो भवन बहुवर्षे ठेक्का प्रक्रियाअन्तर्गत निर्माण हुन लागेको गाउँपालिकाले जानकारी दिएको छ । अस्पताल भवन निर्माण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गाउँपालिकालाई चालु आर्थिक वर्षमा सत्तरी लाख रुपैयाँ पठाएको छ ।


त्यसैगरी ६६ लाख रुपैयाँ लागत अनुमान वडा कार्यालय भवनका लागि डोप्पो कन्स्ट्रक्सनले ४७ लाख रुपैयाँमा ठेक्का पाएको वडा कार्यालयले जानकारी दिएको छ।


 सो अवसरमा अस्पताल भवनका जग्गादाता रेशमबहादुर थापा, वडा कार्यालय भवनका जग्गादाता टेकबहादुर केसी, खिमबहादुर खत्री र कृष्ण भण्डारीलाई सम्मान गरिएको थियो । शिलान्यास कार्यक्रम वडा कार्यालयले आयोजना गरेको थियो । 


शिलान्यासपछि बोल्दै निवर्तमान सांसद थापाले सबै पालिकामा आधारभूत स्तरको अस्पताल निर्माण गर्ने सरकारको घोषणा अनुसार ताकममा अस्पताल बनाउन लागिएको बताएका थिए । निर्वाचन क्षेत्र पूर्वाँधार कार्यक्रमबाट ताकम माविलाई दश लाख विनियोजन गरेको र अस्पताल भवन संरक्षणका लागि थप पहल गर्ने थापाको भनाइ थियो ।


सोही कार्यक्रममा बोल्दै जिसस प्रमुख केसीले तत्कालीन जिल्ला विकास समितिको कोषमा रहेका कोषबाट पहिरो प्रभावित सडक मर्मत गर्न धवलागिरी गाउँपालिकालाई तीस लाख विनियोजन गरेकोमा पालिकाले आफ्नै स्रोतबाट सडक मर्मत गरी वडा कार्यालय बनाउन जिससको बजेट साझेदारी गर्न लागेको बताए ।


गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले गाउँपालिकाको केन्द्र कहाँ हुने भन्ने मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा सबैको प्रयासबाट स्थायी अस्पताल बनाउने ठाउँ छनौट गरी कार्यान्वयनमा लैजान सफल भएको जानकारी दिए ।


वडा अध्यक्ष कलानिधि सुवेदीको अध्यक्षता, ताकम घनाबस्ती कार्यक्रममा तेजिन्द्र थापाको स्वागत र स्थानीय युवा रुपक सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


×
Berita Terbaru Update