बेनी
पुस २६
प्रशासनको छड्के अनुगमन
सदरमुकाम बेनीबाट सेवाप्रवाह गर्दै आएका संघ र प्रदेशका कर्मचारीहरु विना पूर्वसूचना अनुपस्थित पाइएपछि जिल्ला प्रशासन कार्यालय, म्याग्दीले स्पष्टीकरण सोध्ने तयारी गरेको छ । आइतबार गरिएको छड्के अनुगमनका क्रममा अनुपस्थित रहेका कार्यालय प्रमुखदेखि विभिन्न तहका कर्मचारीलाई स्पष्टीकरण सोध्न लागिएको हो । प्रशासन कार्यालयले गरेको छड्के अनुगमनका क्रममा दुई जना कार्यालय प्रमुखसहित १० जना कर्मचारी अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालय, म्याग्दीले जानकारी दिएको छ ।
“कर्मचारीहरु विना सूचना कार्यालयमा अनुपस्थित रहेको पाइयो,” सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मायाँ कुँवरले भनिन्, “के कति कारणले त्यसो भएको हो, पत्र काटेरै स्पष्टीकरण सोध्ने तयारी भएको छ।”
कार्यालयहरु अनुगमन गर्दा साढे दश बजेसम्म पनि कार्यालयहरु कर्मचारी नपुगेको, पोशाक नलगाएको र हाजिरीमा बेवास्ता गरेको, विदा स्वीकृत नगरी विदा बसेको, चलअचल सम्पति व्यवस्थापनमा कमजोरी देखिएको र नागरिक सहायता कक्षको व्यवस्था नगरिएका जस्ता कमजोरी भेटिएको सहायक प्रजिअ कुँवरले बताइन् ।
३३ ओटा क्राइटेरियालाई आधार मानेर सदरमुकाम बेनीमा रहेका २२ ओटा कार्यालयको अनुगमन गरिएको थियो । यसका लागि पाँचओटा समूह बनाइएको सहायक प्रजिअ कुँवरको भनाइ छ ।
कार्यालयको प्रगतिबारे समयमै सार्वजनिक सुनुवाई नगरेको, सेवाप्रवाहमा टोकन प्रणाली र अपाङ्गमैत्री पूर्वाधार नभएको, सिसिटिभि जडान नगरिएको र कार्यालय परिसरमा सरसफाईमा ध्यान नदिएको पनि अनुगमनमा क्रममा भेटिएको छ ।
सदरमुकाम बेनीस्थित संस्थागत एवं सामुदायिक विद्यालय, क्याम्पस, अस्पताललगायतका क्षेत्रमा ‘इ–हाजिरी’को व्यवस्था गरिएको पनि वर्षौं भैसकेको छ । अनगुमनका क्रममा कतिपय सरकारी कार्यालयहरुमा ‘इ–हाजिरी’को व्यवस्था नभएको पाइएको अनुगमनमा सहभागी एक कर्मचारीले बताए । सुशासन र अनुशासनको नारा दिएर नथाक्ने सरकारी कार्यालयहरु नै प्रविधिमैत्री हुन नसक्नु र अव्यवस्थित पाइनुले ‘सरकारी काम कहिले जाला घाम’ भन्ने पुरानो नेपाली उखानलाई फेरि एकपटक सम्झाउने काम भएको छ ।

