बेनी
पुस २८
आफ्नो कार्यकाल पूरा गरी बिदा हुन लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध त्यहाँको संसदमा महाभियोग प्रस्ताव दर्ता भएको छ । ट्रम्पको उक्साहटमा उनका समर्थकले संसद भवन क्यापिटल हिल्समा हिंसा मच्चाएपछि डेमोक्र्याट सांसदहरुले उनीविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन् ।
महाभियोग प्रस्तावमा ट्रम्पविरुद्ध विद्रोह भड्काएको र अमेरिकी संसदमा भएको हिंसालाई प्रोत्साहन दिएको आरोप लगाइएको छ । उनीविरुद्धको महाभियोग प्रस्तावमा छलफल र मतदानका लागि बुधबार बिहान ९ बजे हाउस अफ रिप्रिजेन्टेटिभको बैठक बस्नेछ ।
संविधानको २५औं संशोधनमार्फत ट्रम्पलाई ह्वाइट हाउसबाट हटाउन उपराष्ट्रपति माइक पेन्सलाई आह्वान गर्ने प्रस्ताव हाउस अफ रिप्रिजेन्टेटिभ (प्रतिनिधि सभा)मा पेस भएको थियो । यो संशोधनले राष्ट्रपति आफ्नो कर्तव्य जारी राख्न असमर्थ भए उपराष्ट्रपतिलाई कार्यवाहक राष्ट्रपति बन्ने अनुमति दिन्छ । माथिल्लो सदन सिनेट बैठकको अध्यक्षता पनि उपराष्ट्रपतिले नै गर्छन् ।
तर, उक्त प्रस्तावको वेस्ट भर्जिर्नियाका रिपब्लिकन सांसदले आपत्ति जनाएपछि हाउस अफ रिप्रिजेन्टेटिभको बैठक शुरु भएको १० मिनेटमै स्थगन भएको थियो । त्यसपछि ट्रम्पविरुद्ध महाभियोग प्रक्रिया अघि बढाइएको हो ।
सभामुख न्यान्सी पेलोसी र डेमोक्र्याटिक सांसदहरु यसअघि नै ट्रम्पलाई ह्वाइट हाउसबाट बाहिर निकाल्न चाहन्थे । पछिल्लो घटनापछि सत्तारुढ दल रिपब्लिकनका केही सांसदसमेत ट्रम्पलाई महाभियोग लगाउने पक्षमा छन् । यसपटक सभामुख पेलोसीकै पहलमा महाभियोग दर्ता भएको हो ।
अमेरिकाको इतिहासमा ट्रम्प दुईपटक महाभियोग खेप्ने एक्ला राष्ट्रपति बनेका छन् । अघिल्लोपटक महाभियोग लगाउँदा संसदले असफल पारे पनि उक्त प्रक्रिया पूरा हुन महिनौँ लागेको थियो । तर, यसपटक ट्रम्पको कार्यकाल सकिन नौ दिन मात्र बाँकी छ ।