Notification

×

Iklan

Iklan

हिन्दु राष्ट्र र राजतन्त्र माग्दै बेनीमा प्रदर्शन

Monday, January 11, 2021 | January 11, 2021 WIB Last Updated 2021-12-30T03:24:27Z

 बेनी

पुस २७



नेपाललाई राजतन्त्रात्मक व्यवस्थासहितको हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग गर्दै सदरमुकाम बेनीमा प्रदर्शन भएको छ । २९९औं पृथ्वीजयन्तीको अवसर पारेर राष्ट्रिय जागरण, यूवा सञ्जाल म्याग्दीले सोमबार बेनीमा मोटरसाइकल तथा पैदल र्याली एवं कोणसभाको आयोजना गरेको हो ।





सदरमुकाम बेनीको खुल्ला मञ्चबाट शुरु भएको र्याली, मङ्गलाघाट, न्युरोड, कालीपुल, गणेशटोल, बालमन्दिरचोक हुँदै दूरसञ्चार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।


सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री एवं राष्ट्रिय पञ्जातन्त्र पार्टीका नेता भीमप्रसाद गौचनले नेपाललाई हिन्दू राष्ट्र कायम गरी राजतन्त्रको पुनर्बहाली गर्न जनमत संग्रह गर्नुपर्ने विचार व्यक्त गरेका थिए । 





नेपालको बजेटले धान्नै नसक्ने गरी संघीय शासन व्यवस्था लागू गरिएको भन्दै नेता गौचनले नेपाली कांग्रेस, एमाले र माओवादीले धर्म बेचेर खाएको आरोपसमेत लगाए ।


पार्टीभित्रको किचलो समाधान गर्न नसकेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विटन गर्नु गलत भएको तर्क राख्दै नेता गौचनले नयाँ परिस्थितिमा चुनावमै जानुपर्ने राप्रपाको मान्यता रहेको पनि जानकारी गराएका थिए ।


म्याग्दीका जनताले आफुलाई जिल्ला हुँदे केन्द्रीय राजनीतिमा पुर्याएको स्मरण गर्दै ८० वर्षीय नेता गौचनले भने, “तपाईंहरुको गुनलाई मैले बिर्सिएको छैन ।” उनको यो भनाइलाई अझै पनि सकृय राजनीति गर्ने आकांक्षासँग जोडेर हेरिएको छ ।


सोही कार्यक्रममा बोल्दै पण्डित भीमनाथ पराजुलीले हिन्दू धर्म नेपालको राष्ट्रिय पहिचान भएकोले यसको संरक्षण गर्नु सबैको दायित्व भएको विचार व्यक्त गरेका थिए ।


राष्ट्रिय यूवा सञ्जाल म्याग्दीका अध्यक्ष हरिप्रसाद शर्माको अध्यक्षता र देवेन्द्र घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


×
Berita Terbaru Update